-तुलसी गिरी ‘भावुक’
लोकप्रिय गायक मिन के.सी. र गायिका माधवी अर्यालको स्वरमा रहेको लोकदोहोरी यो दिल भो खाली को भिडिओ सार्वजनिक भएको छ । मिन के. सी. कै शव्दरचना/सङ्गीत र जुजु गुरुङको सङ्गीत संयोजन रहेको म्युजिक भिडिओ सर्जक तथा कलाकार मिनको अफिसियल युट्युव च्यानल Min KC बाट डिजिटल बजारमा आएको हो । रमेश चन्द सोडारी र सरिता दानकुटीको प्रमुख भूमिका रहेको यो भिडिओको निर्देशन एवं कोरियोग्राफी शिव बि. क. ले गरेका हुन् भने वीरेन्द्र भाट ‘विपिन’ र शिव मिश्रको सिनेमाटोग्राफी, लोकेश भाटको ग्राफिक्स र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको छ । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । गीतमा धन कमाउन परदेश गएको प्रेमी र धन सम्पत्ति भन्दा पनि साथ खोजिरहेकी प्रेमिकाको भावना प्रस्तुत गरिएको छ ।
बाल्यकालदेखि नै लोकदोहोरीप्रति अनन्य झुकाव भएका प्रतिभाशाली गायक मिन के.सी. को स्थायी थलो गोर्खाको ताप्ले गाउँ हो । सन् २००३ देखि अमेरिकालाई कर्मथलो बनाईरहेका मिनले स्कूले उमेरदेखि नै ताप्लेका उकाली-ओराली र वन पाखाहरुमा आफ्नो सुरिलो स्वर गुञ्जाएका थिए । त्यहाँको प्रकृतिमा उनका स्वरहरु अहिले पनि कतै घुमिरहेका होलान् ।
चाडबाड लगायत गाउँघरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा गीत गाएर सानै उमेरमा प्रसिद्धि कमाएका उनी कतिपटक त घरमा सबै सुतिसकेपछि राती सुटुक्क भागेर रोधी (रोदी) गाउन गएका थिए। यस्ता घटनाबाट पनि सङ्गीतप्रतिको उनको मोह सजिलै आङ्कलन गर्न सकिन्छ । जुनबेला उनी किशोर उमेरमा थिए, त्यो समयमा सङ्गीत त्यति व्यावसायिक भैसकेको थिएन । गीत-सङ्गीतमा लागेर सन्ततिको भविष्य बिग्रेला भन्ने चिन्ता त्यो बेलाका हरेक अभिभावकलाई हुने गर्दथ्यो । त्यसैले पनि कतिपय परिस्थितिमा बुबाआमालाई थाहै नदिई गीत गाउन जाने गरेको उनी बताउँछन् ।
उच्च शिक्षा काठमाण्डौबाट पूरा गरेका मिनले स्नातक नेपाल ल क्याम्पसबाट र स्नातकोत्तर त्रिचन्द्र क्याम्पसबाट गरेका हुन् । अमेरिका जानु अघि चर्चित लोकगायक रामप्रसाद खनालले नेपाल टेलिभिजनका लागि सञ्चालन गरेको त्यो बेलाको सर्वाधिक लोकप्रिय एवं नेपालकै प्रथम लाइभ लोकदोहोरी कार्यक्रममा शिला आलेसँग दोहोरी गाएर २२ वर्ष अघि नै उनी नेपाल टेलिभिजनको पर्दामा आएका थिए ।
अमेरिका जानु अघि शिला आलेसँगै सन् २००३ मा गोर्खा ताप्ले गाउँ, दिल बस्यो मायालु हिँड सँगै जाऊँ बोलको गीत रेकर्ड गरेर औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेका मिनले अमेरिका गएपछि पनि आफ्नो सङ्गीतकर्मलाई निरन्तरता दिईरहे । नेपाली लोकदोहोरीको प्रबर्धन र प्रचार-प्रसारकै लागि भनेर उनी लगायत केही उत्साही युवाहरुको सक्रियतामा सन् २००६ मै बोस्टन लोक सुसेली समूह को स्थापना गरिएको छ । गृह राज्य बोस्टन लगायत अमेरिकाको विभिन्न राज्यमा आयोजना हुने साङ्गीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुतिलाई नियमित गर्दै आएका मिनले यूरोप र क्यानडासम्म पुगेर पनि आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।













