‘सिनेपा:’ स्टुडियोका लागि ३ करोड सरकारी अनुदानका लागि सम्झौता

नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमका रूपमा बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ । शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो।

‘सिनेपा:’ स्टुडियो नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्माताहरुलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना हो। यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स (VFX), कलर ग्रेडिङ र पोस्ट प्रोडक्सन सुविधाहरू रहनेछन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, ‘काभ्रेको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको ‘सिनेपा:’ स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ। यो केवल स्टुडियो होइन, हाम्रो सिनेमा क्षेत्रको भविष्यमा लगानी हो’।

‘सिनेपा:’ को निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीहरूले विदेशमा गएर महँगो पोस्ट प्रोडक्सन गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ। साथै यसले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सम्झौता कार्यक्रममा मन्त्रालयका कर्मचारी सहित चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गीरीश शर्मा लगायतको उपस्थिति रहेको थियो ।