-तुलसी गिरी ‘भावुक’
नेपाली म्युजिक भिडिओको क्षेत्रमा सुस्मिता सापकोटालाई नचिन्ने दर्शक सायदै होलान् l विशेषगरि लोकदोहोरी र आधुनिक गीतका भिडिओमा नायिका अर्थात मुख्य मोडलको रुपमा अभिनय गरेर गौरवशाली पहिचान स्थापित गरिसकेकी कलाकार सुस्मिताले नृत्यप्रधान होस् या अभिनयप्रधान सबै प्रकारका भिडिओमा उत्तिकै कुशलताका साथ आफ्नो कला प्रस्तुत गर्दै आएकी छिन् l बलियो आत्मबिश्वास, दृढ ईच्छाशक्ति र अथक मेहेनतकै कारण आजको यो स्थानसम्म आईपुगेकी सुस्मिताले कलाकारिताका साथसाथै आफ्नो एकेडेमिक योग्यतालाई पनि सँगसँगै अगाडि बढाईरहेकी छिन् l हाल पत्रकारितामा स्नातकोत्तर गरिरहेकी उनी म्युजिक भिडिओ मोडलिङको क्षेत्रमा यो स्तरको उच्च शैक्षिक योग्यता भएका नगण्य युवतीहरु मध्येकी एक हुन् l
सुस्मिताको जन्म आज भन्दा २५ वर्ष अघि गोर्खा, सिरानचोक निवासी माता समुन्द्र सापकोटा र पिता अमृतबाबु सापकोटाको परिवारमा माइली छोरीको रुपमा भएको हो l कक्षा ३ सम्म स्थानीय सरस्वती प्रा.बि. मा पढेकी उनले ४ देखि १० सम्मको पढाई पनि गृह क्षेत्रकै जनता मा. बि. बाट पूरा गरेकी हुन् l स्कूले जीवनमा सधैं उत्कृष्ट १० विद्यार्थीभित्र पर्ने गरेकी सुस्मिता त्यो बेला वक्तृत्वकला र नृत्यमा विशेष रुची राख्थिन् l आफ्नो स्कूलमा आयोजना हुने वक्तृत्वकला र नृत्यमा सधैं प्रथम हुने असाधारण प्रतिभा भएकी उनी ९ कक्षामा पढ्दा गोर्खा जिल्लाका ३९ विद्यालयले प्रतिस्पर्धा गरेको अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा समेत दोस्रो भएकी थिईन् l स्कूलमा मात्र नभएर विभिन्न अवसरमा गाउँघरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा समेत आकर्षक नृत्य गरेर सबैको मन जित्न सफल सुस्मिता त्यही बेलादेखि अभिनयप्रति पनि विशेष रुची राख्थिन् l ‘डान्स र वक्तृत्वकलामा प्रथम भएर धेरै पुरस्कार पनि पाएँ l तर मलाई अभिनयमा नै बढी रुची थियो l मलाई त्यो बेला ‘स्याड’ भावका गीतमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो’ उनी विगत सम्झंदै भन्छिन् l
पढाइको बारेमा कुरा गर्नुपर्दा २०७२ सालमा एसएलसी उत्तीर्ण गरेकी सुस्मितालाई स्टाफ नर्स पढेर बिरामीहरुको सेवा गर्ने ठूलो ईच्छा थियो l तर आर्थिक कारणले उनको त्यो चाहना साकार हुन पाएन् l उच्च शिक्षा र भविष्यका सपनाहरु बोकेर काठमाण्डौ प्रवेश गरेकी सुस्मिता रेन्बो इन्टरनेशनल कलेज, डल्लुमा भर्ना भइन् र त्यही कलेजबाट पत्रकारितामा स्नातक पूरा गरिन् l हाल पत्रकारितामै उनी स्नातकोत्तरको तेस्रो सेमिस्टरमा पढिरहेकी छिन् l
काठमाण्डौ आएको दोस्रो वर्ष नै अर्थात् २०७३ सालमा यातायात विभागले निर्माण गरेको स्मार्ट लाइसेन्सको चेतनामूलक विज्ञापनमा अभिनय गरेर पहिलोपटक व्यावसायिक यात्रा सुरु गरेकी सुस्मिताले ०७३ मै पहिलोपटक म्युजिक भिडिओ मोडलिङ आरम्भ गरेकी थिईन् l आशिष म्युजिकको प्रस्तुतिमा स्मृति तिमिल्सिनाद्वारा निर्देशित लोकदोहोरी ‘यो संसारमा’ बाट म्युजिक भिडिओ मोडलिङमा पाइला बढाएकी सुस्मितालाई पुरुष मोडलमा इशान श्रेष्ठले साथ दिएका थिए l प्रसिद्ध गायक रामजी खाँडद्वारा स्वरवद्ध सो गीतको भिडिओले उनलाई मोडलिङको दुनियाँमा एउटा पहिचान दिएको थियो l व्यावसायिक रुपमा सफल भिडिओको कुरा गर्नुपर्दा २०७५ सालको तीजगीत ‘दिदीभाइ’ ले उनलाई पहिलोपटक लोकप्रियताको शिखरमा पुर्याएको थियो l युट्युब ट्रेन्डिङमा तेस्रो नम्बरमा पर्न सफल सो म्युजिक भिडिओ पछि उनको मोडलिङ यात्राले लामो व्यावसायिक छलाङ मारेको थियो l उनले अभिनय गरेको अर्को गीत ‘डाली नुग्यो चरीले टेकेर’ ले युट्युबमा १० मिलियन भन्दा बढी भ्युज पाएको छ l
हालसम्म उनले लोकदोहोरी र आधुनिक गरी लगभग ४०० म्युजिक भिडिओमा अभिनय गरिसकेकी छिन् l जसमध्ये ‘डाली नुग्यो चरीले टेकेर, तारासँगै जून, दिदीभाइ (भाग १ देखि ३ सम्म), तिमी संसार, डाडु पन्यु, खोली भए किन मन रुन्थ्यो, यसपालीको दशैं, तिहारको रमझम (भाग १ देखि ५ सम्म), रमाईलो तिहार, तिम्रो कसम, फूलै फूलको संसार, पियारी, साइँली माफ गर’ आदि सुस्मिताका सर्वाधिक लोकप्रिय भिडिओ हुन् l उनले सङ्गीत बजारका चर्चित भिडिओ निर्देशक शंकर बी.सी., दुर्गा पौडेल, स्मृति तिमिल्सिना, प्रकाश भट्ट आदिसँग सहकार्य गरिसकेकी छिन् भने रामजी खाँड, ओबी राईमाझी, लोमश शर्मा, बिमल अधिकारी, बिक्रम बुढाथोकी, प्रकाश सपुत, पशुपति शर्मा, खुमन अधिकारी, बब्लु बिश्वकर्मा लगायतका चलेका पुरुष मोडलसँग उनलाई जोडीका रुपमा देख्न सकिन्छ l गीत-सङ्गीत क्षेत्रमा स्थापित हुनका लागि धेरै व्यक्तिहरुको साथ, सपोर्टको रहेको बताउँदै विशेषगरि आशिष म्युजिकका प्रबन्ध निर्देशक रामजी पन्तले गरेको सहयोग जीवनभर अविश्मरणीय रहेको उनले जानकारी गराईन् l
पढाई र म्युजिक भिडिओ मोडलिङ सँगसँगै अन्य क्षेत्रमा पनि आफ्नो कला, प्रतिभा र क्षमता पोखिरहेकी, सधैं केही नयाँ काम गरौँ भन्ने सोच भएकी मेधावी युवती सुस्मिताले विगतमा समाचार वाचिकाको रुपमा अरनिको टेलिभिजन र युनिभर्सल टेलिभिजनमा समेत काम गरेकी थिईन् l युनिभर्सल टेलिभिजनमा आवद्ध रहँदा उनले स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि चलाएकी थिईन् l एनएमबी, एनएमएनबी, प्रभु, एनआईसी एशिया लगायत कमर्सियल बैंकहरुको विज्ञापनमा आफ्नो स्वर दिएकी सुस्मिता एक कुशल मोटिभेटर स्पिकर पनि हुन् l उनले विभिन्न सौन्दर्य प्रोडक्ट, कन्सल्टेन्सी, ब्युटी पार्लर, हर्बल साबुन, रोसोर्ट आदिका लागि लगभग ४ दर्जन बिज्ञापनहरुमा भ्वाइस आर्टिष्टको रुपमा समेत काम गरेकी छिन् l
०८० सालदेखि नै नेपाल टेलिभिजनमा युवावर्गलाई आत्मनिर्भरताका लागि उत्प्रेरित गर्ने साप्ताहिक कार्यक्रम ‘असल अभ्यास’ सञ्चालन गरिरहेकी उनी कतैपनि नृत्य र अभिनयको औपचारिक प्रशिक्षण नलिएकी एक स्वत:सिद्ध प्रतिभा हुन् l विभिन्न सङ्घ-संस्थाहरुबाट सम्मानित सुस्मिताले नव मोडलको विधामा ‘राप्ती अवार्ड’ प्राप्त गरेकी छिन् l नेपालमा भविष्य छैन भन्दै विदेश जाने युवावर्गलाई नेपाल फर्कन र यहीँ अवसर खोज्न आग्रह गर्दै सिर्जनशील सुस्मिता भन्छिन्-‘अबको मेरो लक्ष्य भनेको पीएचडी गर्ने हो l’
