समीक्षा र रचनाको स्वरमा ‘आयो तीज’ सार्वजनिक

सुष्मा महराको शब्द एवं चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ तिज गीत ‘आयो तिज’ को भिडिओ सार्वजनिक भएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रमका बिच भिडिओ सार्वजनिक गरिएको हो। मौलिक शब्दहरु समेटिएको यो गीत लोक रोमान्टिक शैलीमा तयार पारिएको छ । छमछम नचाउने खालको यस गीतमा पुरुषोत्तम न्यौपानेको सङ्गीत छ । गीतमा म्युजिक एरेञ्ज केशव बाबुले गरेका छन् ।

गीतको भिडिओ आकर्षक बनेको छ । भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस कलाकार समेत प्रयोग भएको यस भिडिओको निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका हुन् । भिडिओमा चक्र बहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडिओको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको यो भिडिओ म्युजिक नेपालको अफिसियल युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गीतकार महराले गीतका शब्द केवल शब्द मात्र नभएर आफ्‌नो जीवन भएको बताइन् । उनले आफ्‌नो जीवनका विगत गीतको शब्द मार्फत उतारेकोले गीत तथा भिडिओ हेर्नेले आफ्‌नो जीवन छर्लङ्ग बुझ्‌ने बताइन् । महराको यो दोस्रो तिज गीत हो । महराले पहिलो गीतलाई झैं यो गीतलाई पनि दर्शक/स्रोताले धेरै माया दिने विश्वास व्यक्त गरिन्। सङ्गीतकार न्यौपानले गीतका शब्द मौलिक र मार्मिक भएकोले आफूले मर्म नमर्ने गरेर रोमान्टिक शैलीका तयार पारेको बताए भने भिडिओका निर्देशक घिमिरेले आफूले नेपाली कलासंस्कृति झल्कने गरेर निर्माण गरेको जानकारी गराए ।