लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तिजका लागि नयाँ गीत चालिसे चुरा को भिडिओ सार्वजनिक गरेकी छिन्। तिज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’ को रूपमा पनि परिचित छिन्। शम्भुजित बास्कोटाको सङ्गीतमा तयार भएको यस गीतको शब्द चिरञ्जिवी भट्टले लेखेका हुन्। रङ्गिन र रमाइलो माहोलमा तयार पारिएको यस म्युजिक भिडिओमा एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं गायिका दुलालको अभिनय देख्न सकिन्छ।
तेञ्जु योञ्जनको निर्देशनमा बनेको यो भिडिओ Sunita Dulal युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। गीतबारे बोल्दै दुलालले यसपटकको तिज गीतमा सांस्कृतिक रङ्ग, परम्परा र आधुनिक प्रस्तुतीको मिश्रण रहेको बताइन्। ‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पुर्याईदेऊ’ र ‘नाचौं सरर’ जस्ता हिट गीतमार्फत चर्चा कमाइसकेकी दुलालको यो नयाँ प्रस्तुति पनि दर्शकले मन पराउने उनले विश्वास व्यक्त गरिन्।
तीज आउन अझै केही हप्ता बाँकी भए पनि सामाजिक सञ्जालहरू अहिले नै तिजमय भएका छन्। यतिबेला तिजलाई लक्षित गर्दै दर्जनौं गीत र भिडिओहरू सार्वजनिक भइरहेका छन्, जसमध्ये ‘चालिसे चुरा’ले पनि दर्शकको ध्यान तानिरहेको छ।
