हाम्रो समाजमा पुरूषका पीडाहरू प्राय: बाहिर आउँदैनन् । उनीहरूमा पनि पीडा हुन्छन् तर प्रायले लुकाउँछन्, बाहिर ल्याउँदैनन्, भित्रभित्रै गुम्स्याएर राख्छन् । नेपाली समाजमा एउटा ‘छोरा मान्छे भएर रूनु हुँदैन’ भन्ने सोच छ । साँच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्त स्थानमा बन्न पुगेको अवस्था छ । यस बिषयमा गीतकार नारायण खतिवडाको ‘मौनतामा पुरुष पनि’ गीतले गहिरो सन्देश दिएको छ । पुरूषले आँसु झार्ने ठाउँसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ ‘कि त मनभित्र कि त एकान्तमा !’
‘मौनतामा पुरुष पनि’ गीतमा समाजमा बढ्दै गएको देखासिकी, प्रविधिको सही सदुपयोग नहुनु र एकांकी सोचले बनेका कतिपय कानूनले गर्दा पनि यस्तो अवस्था बढ्दै गएको विभिन्न तथ्यहरूलाई प्रस्तुत गरिएको छ । आजभोलि धेरै पुरुषहरू पीडित हुँदै गएको अवस्था छ । यस्तो अवस्था भुसको आगो झैं समाजमा भित्रभित्रै सल्कंदै गएको छ । यस्तो अवस्थालाई समयमै सम्बोधन गरिएन भने कुनै दिन बिष्फोट हुने खतरा पनि बढ्दै गएको छ ।
गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा प्रवीण बेडवालको स्वर रहेको ‘मौनतामा पुरूष पनि कति रोएका होलान्’ को भिडिओ नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक गरिएको छ । उक्त गीतको मिक्सिङ्ग तथा मास्टरिङ क्रमशः मनोज सामसोङ राई तथा सुरेश राईले गरेका हुन् । गीत स्टूडियो किङमा रेकर्ड गरिएको हो ।
पुरुषहरुको आवाज सुन्ने र राख्ने सम्बन्धमा स्पष्ट निकाय तोकिएको छैन । प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येठ नागरिक हेर्ने छुटै निकाय छन् । तर पुरुषका लागि भनेर नतोकिएका हुँदा पुरूषहरू प्राय: जानै चाहँदैनन् । पुरूषहरू प्रताडित भएका धेरै घटनाहरू छन् । त्यसको कारणमा बिषयवस्तुलाई हल्का रूपमा लिईनु, असमान कानूनी प्रावधान तथा संस्थागत संयन्त्रको अभाव हुन् । यसतर्फ कानून निर्माता तथा कार्यान्वयन गर्ने निकाय र कानूनी उपचारको प्रावधानमा सुधार र परिमार्जन आवश्यक देखिन्छ । गीतमा भनिए झैं कानूनको पालना हुँदैमा सधैं न्याय हुन्छ भन्ने निश्चित पनि हुँदैन। वास्तबमा गीतले भने जस्तै आजभोलि कतिपय ब्यक्तिले कानूनको दुरूपयोग गरी स्वार्थ पूरा गर्नेतर्फ बढ्दै गएको अवस्था रहेको हुँदा कानूनहरूको समीक्षा गर्नुपर्ने बेला आएको छ, गीतले प्रष्ट पारेको छ ।
गीतको भिडिओमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल र गणेशकुमार ढकालको अभिनय रहेको छ । भिडिओको निर्देशन खतिवडा आफैंले गरेका हुन् भने सम्पादन बिकाश धमलाको रहेको छ । भिडिओको कन्सेप्ट भने जगन्नाथ खतिवडाको रहेको छ । गीतकार खतिवडाका यस भन्दा अगाडि पनि थुप्रै गीत र पुस्तक सार्वजनिक भएका छन् ।
