सन्जिता खड्काको शब्द तथा सङ्गीतमा तिज गीत ‘ठोक मादल ठोक’

-वीरेन्द्र भाट ‘विपिन’

मेरो व्रत तपस्याले महादेव नि भङ्गै
आउने साल त मेरो पनि ल्याउँछु जोडी संगै
ठोक दाजै मादल ताल
यो तिजमा नाच्ने हो बाबाल

हिन्दू नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा दिनदिनै नयाँ नयाँ तिज गीतका भिडिओहरू सार्वजनिक हुने क्रम तीव्र हुँदै गएको छ। यही क्रममा सामाजिक कर्ममा निकै व्यस्त गायिका सन्जिता खड्काको मौलिक तिज गीत ‘ठोक मादल ठोक’ को भिडिओ सार्वजनिक गरिएको छ। सन्जिता खड्काको शब्द तथा सङ्गीत रहेको यस गीतमा लोकप्रिय गायिका बिन्दु बिसी र सन्जिता खड्काको सुमधुर स्वर रहेको छ भने राकेश सोनीको सङ्गीत संयोजन र ध्वनि मिश्रण रहेको छ ।

एउटी अविवाहित युवतीले आफ्नो पनि जोडी भएको भए हुन्थ्यो, शृङ्गार  गर्दा मलाई ‘राम्री छौ’ भन्दिने मेरो जोडी संगै भैदिए कस्तो हुन्थ्यो होला !  भन्ने भाव व्यक्त गरेको यो भिडिओ सन्जिता खड्काको निर्देशनमा छायाङ्कन भएको हो भने भिडिओमा कलाकार मिना लामाको अभिनय संगै कोरियोग्राफी पनि रहेको छ । सन्तोष थापा मगर र पदम मगरको छायाङ्कन रहेको यस भिडिओमा लोकेश भाटको सम्पादन र रङ्ग संयोजन रहेको छ । भिडिओ World Cover Media र सन्जिता खड्काको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।