समिप आचार्यको शब्द तथा सङ्गीतमा ‘भो यो माया’

-रोशन पोखरेल 

भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको गीत ‘भो यो माया’  को भिडिओ सार्वजनिक गरिएको हो। गीतमा गायक नारायण सुवेदी ‘आभास’ को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । गीत ‘भो यो माया’ ले नेपाली सङ्गीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक समिप आचार्यको सिर्जनामा समेटिएको सरल तर गहिरो भावले गीतलाई गहन बनाएको छ। गायक नारायण सुवेदीको सुमधुर स्वर र मौलिक सङ्गीत संयोजनले यो सिर्जनालाई आम श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ ।

गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ र मास्टरिङको काम किशोर थापाले सम्हालेका छन्। म–बीट स्टुडियोमा रेकर्ड गरिएको यस गीतका रेकर्डिस्ट मोनीश चाम्लिङ हुन्। नेपाली मौलिक वाद्यबादनलाईको उत्कृष्ट संयोजन गीतमा सुन्न सकिन्छ  । सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको विशेष योगदान रहेको छ।

कर्ण बहादुर खड्काको छायाँङ्कन, सुन्दर क्षेत्रीको सम्पादन तथा मिना बुढाथोकी सावित्रीको निर्देशनमा भिडिओ तयार पारिएको हो । प्रेम र पीडाको कथा मार्मिक ढङ्गले प्रस्तुत गरिएको यस भिडिओमा कलाकार किरण तामाङ र ललिता थापाको अभिनय देख्न सकिन्छ ।  सशक्त अभिनय, आकर्षक छायाङ्कन र भावनासँग मेल खाने सम्पादनले भिडिओको स्तर उच्च बनाएको छ।