-सुभाष श्रेष्ठ प्रधान
नेपाली गीत सङ्गीत क्षेत्रमा एउटा प्रतिभाशाली व्यक्तित्वको रुपमा परिचित सुमधुर स्वरका धनी हुन् गायक सङ्गीतकार प्रकाश वाइवा l सिन्धुली कमलामाई नगरपालिका घुरा फाँटमा जन्मिएका सर्जक प्रकाश वाइवा नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दौडमा छन् l उनी भन्छन् : नेपाली गीत सङ्गीतमा होमिनुको कारण आफ्नो कला, संस्कृति र भाषालाई विश्वमा चिनाउनको लागि हो। एक दशक भन्दा लामो समयदेखि निरन्तर साधना र मेहेनत गर्दै आएका उनी आज एउटा कुशल गायक/सङ्गीतकारको रूपमा परिचित छन्। साङ्गीतिक क्षेत्रमा जति नै उताव चढाव आएता पनि हरेश खाँदिन भन्छन् उनी l र, अझै कडा परिश्रम र धैर्यत़ाका साथ अगाडि बढ्नेछु भन्ने प्रण गर्छन् l
सन् २०१६ देखि कतार/दुबई बसेका उनी बाहिर भविष्य नदेखेपछि नेपाल आएर आफ्नै गाउँ ठाउँमा रहेर गीत सङ्गीतको सेवामा समर्पित छन् l उनले तामाङ चलचित्र ‘छोडी नजानु’ र १७ वटा भन्दा बढी म्युजिक भिडिओमा अभिनय आफ्नो कला देखाइसकेका छन् l गायन मार्फत कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै उनले हाल विभिन्न स्टेज प्रोग्रामहरूमा आफ्नो जोडदार प्रस्तुतिहरू दिँदै आईरहेका छन् भने नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनको धोको रहेको छ l गायक तथा सङ्गीतकार प्रकाश वाइवासँग गरिएको साङ्गीतिक कुराकानीको छोटो अंश :
तपाईंको बुझाईमा सङ्गीत के हो ?
मेरो बुझाईमा सङ्गीत जीवन हो। बरु रक्सी चुरोट छोड्न सकिन्छ होला सङ्गीत छोड्न सकिन्न l गीत सङ्गीत एउटा ठूलो नशा रहेछ। यो ध्यानको एउटा पर्यायवाची शब्द हो। सङ्गीतले हरेक मानिसको मनलाई आनन्दित तुल्याइदिन्छ। भनिन्छ नि सुख दुःखको साथी जस्तै l
सङ्गीतमा लाग्दा कत्तिको चुनौती भोग्नुभयो ?
कुनै पनि क्षेत्रमा लागिपर्दा हरेक व्यक्तिले छुट्टै चुनौतीहरु भोग्नुपर्छ। मैले गीत सङ्गीतलाई नै अंगालीरहँदा धेरै चुनौती र कठिनाइहरु भोग्नुपर्यो। त्यति सहज भन्ने हुँदैन रहेछ। जति दुःख कष्ट आइपर्दा पनि त्यसको सामना गर्ने क्षमता राख्न सक्नुपर्छ l सङ्गीत एउटा यस्तो नशा हो एकचोटि रस बसेपछि छुटाउन गाह्रो हुँदो रहेछ।
पछिल्लो समय नेपाली गीत सङ्गीतमा निकै नै छाडापन बढेको र दुई अर्थ लाग्ने गीतहरु बजारमा आइरहेको छ भन्ने चर्चा छ, यस बारेमा तपाईंको भनाइ के छ ?
गीत सङ्गीतले हाम्रो कला-संस्कृतिलाई संरक्षण गर्छ, तर आज हाम्रो समाजलाई दूषित बनाउने किसिमका अपाच्य खालका शब्दहरू भित्रिएका छन् । यसले समाजलाई निकै नराम्रो असर पार्छ। जसरी चलचित्रमा सेन्सरसिप हुन्छ त्यसैगरी गीत सङ्गीतमा पनि सेन्सरसिप हुन जरुरी छ l भोलिका हाम्रा नयाँ पुस्ताले के सिक्छन् त ? यस क्षेत्रमा लागि परेका सङ्घ संस्थाले पनि यस्ता गीत सङ्गीतलाई कानुनी दायरामा ल्याउनुपर्छ l
सङ्गीत सिक्न कत्तिको जरुरी छ ?
कुनै पनि पेशामा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने त्यो विषयमा ज्ञान हासिल गर्न निकै आवश्यक छ। गीत सङ्गीतको बजार निकै नै प्रतिस्पर्धी छ। त्यसैले आफूलाई अब्बल बनाउनको लागि साङ्गीतिक ज्ञान हुन निकै नै आवश्यक छ।
हालै सार्वजनिक भएको गीत ‘गोप्य सेटिङ’ को बारेमा के भन्न चाहनुहुन्छ ?
हालै सार्वजनिक भएको गीत गोप्य सेटिङको शब्द पृथ्वी लामा, सङ्गीत प्रयास तामाङ र गायनमा प्रकाश वाइबा र एन्जिला रेग्मीको रहेको छ। जसमा सम्पादन अनिल बिष्ट प्युठानी, कोरियोग्राफी र निर्देशनमा सञ्जीव ठोकर र दृश्य छायाङ्कन दुर्गा श्रेष्ठको रहेको छ। यस म्युजिक भिडिओमा अन्य धेरै कलाकारहरूको अभिनय देख्न पाइन्छ l जसमा मुख्य भूमिका संजीव गोले र सिर्जना घिसिङ रहेका छन् l अन्य अतिथि कलाकारहरू रमेश लामा, कृति गोले, राम लामा, सन्तोष सेन ठकुरी, जुना साङ्टेन, प्रेम दोङ रहेका छन् l यो म्युजिक भिडिओ प्रकाश वाइबा अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।
