‘तेस्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८२’ को फारम खुल्यो

‘तेस्रो राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८२’ को फारम खुला भएको छ । आयोजक संस्था क्वालिटी फिल्मस् प्रा.लि.ले गत मङ्गलबार यो अवार्डको तेस्रो संस्करणको फारम खुला भएको घोषणा गरेको हो । यो अवार्डको लगातार दुई शृंखलाको सफलतापछि यो तेस्रो शृंखलाको तयारी तीव्र गतिमा भइरहेको कुरा जनाईएको छ । अवार्डमा २०८१ वैशाख १ गतेदेखि २०८२ असार मसान्तसम्म प्रकाशित गीत–सङ्गीत तथा चलचित्रका कलाकार, प्राविधिक र सम्बन्धित विधाले सहभागी हुन पाउने कुरा थाहा भएको छ।

बिगत झैं यसपटक पनि आदिबासी जनजाति गीत सङ्गीत, कथानक चलचित्र, लघु चलचित्र र टेलि चलचित्रलाई लक्षित गरेर यो अवार्डको आयोजना गर्न लागिएको आयोजक टिमका अध्यक्ष उमेश गुरुङले बताएका छन् । उनका अनुसार यही भदौ १० गतेसम्म फारम भरिसक्नु पर्नेछ । आयोजक पक्षले १३ भदौमा अनलाईन माध्यमबाट मनोनयन सूची सार्वजनिक गर्ने छ । भदौको ३० गते अवार्ड आयोजना गर्ने लक्ष्य आयोजक पक्षको रहेको छ ।

अवार्डको फारम विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडक र क्वालिटी फिल्मस् प्रा.लि.को कार्यालय लैनचौरबाट लिन सकिने कुरा जानकारी गराईएको छ । अवार्ड कमिटीका अध्यक्ष गुरुङका अनुसार गीत सङ्गीत तथा चलचित्र दुबैतर्फ शेर्पा, थकाली, गुरुङ, मगर, थारु, दनुवार, दराई, माझी, नेवारी, तामाङ, दुरा, राई/सुनुवार, मैथिली, लिम्बू, राजबंशी, भोजपुरी, माडवारी, अवधी, डोल्पेली, चेपाङ लगायतका आदिबासी–जनजातिहरुले आफ्नो मातृभाषा तथा सम्बन्धित जातको संस्कृति समेटिएर नेपाली भाषामा रेकर्ड भएका गीत–सङ्गीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्र, टेलि चलचित्र, वृत्तचित्र, लघु चलचित्रबाट आ–आफ्नो विधामा फारम भर्न सक्ने छन् ।

यसैगरी यो अवार्डका लागि गीत–सङ्गीततर्फ गीत, गायक, गायिका, नव गायक/नव गायिका, गीतकार, सङ्गीतकार, सङ्गीत संयोजक, म्युजिक भिडिओ निर्देशक, मोडल पुरुष/महिला, नव मोडल पुरुष/महिला, छायाँकार, सम्पादक, शृंगार, भेषभूषा, मिक्सिङ, वाद्यवादन लगायतका विविध विधा एवं चलचित्रतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, सङ्गीतकार, सङ्गीत संयोजक, गीतकार, गायक, गायिका, छायांकार, सम्पादक, पार्श्व सङ्गीतकार, शृंगार, भेषभूषा, रङ्ग संयोजन जस्ता विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् ।