वरिष्ठ कलाकार उत्तम केसी गीत लेखनमा पनि सक्रिय रहँदै आएका छन् । हालै उनको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा सिक्किमकी गायिका अञ्जना नाल्बो लिम्बूले स्वर दिएकी छिन् । लिम्बू ‘याक्थुङ स्टार’ गायन प्रतियोगिताको उपाधि विजेता समेत हुन् । गीतमा पुस्कर सुनुवारको सङ्गीत/सङ्गीत संयोजन र विप्लव अधिकारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।
अमर ओलीको निर्देशन रहेको यस गीतको भिडिओमा सिद्धान्त बोहरा, विनिता भण्डारी, मुकुन्द मैनाली, मनोज केसी, सानुकाँचा महर्जन लगायतको अभिनय छ । ब्राण्ड यु पिक्चर्स प्रा.लि.को निर्माणमा तयार पारिएको यस गीतको भिडिओ ‘चुईंचुईं पारेर टिभी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मीरा लामाको शृङ्गार र मनोज केसीको व्यवस्थापन रहेको यस भिडिओको निर्माता उत्सव केसी हुन् । ज्ञानकुमार कट्टेलको छायाङ्कन रहेको यो भिडिओमा प्रेम शर्माको दृश्य सम्पादन रहेको छ ।
गायिका लिम्बूले गीतकार केसीका शब्दबाट प्रभावित भएर गीत गाएको बताएकी छिन् । ‘सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडिओ श्रोता/दर्शकमाझ आएको छ, सबैले मन पराइदिने कुरामा हामी आशावादी छौं’ उनले भनिन् । उत्तम केसी गीत लेखन तथा कथा लेखनमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनका ‘न झुकुन् हाम्रा शिरहरू, जसले जे जे भने पनि तिमी मेरी आमा, मकै भुट्ने हाँडीमा, रहरै भो, कि वार कि पार, अब जे होला होला, ठण्डा ठण्डा पानी, आकशको जून तिमी, धर्तीको फूल’ लगायतका गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसकेका छन् । उनी चलचित्र निर्माण, निर्देशनमा पनि सक्रिय छन् ।
