हिन्दू नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजार तिजमय बन्दै गएको छ। नयाँ नयाँ तिज गीतका भिडिओहरू सार्वजनिक हुने क्रम तीव्र हुँदै गएको छ। यस्तै क्रममा गायक तथा सङ्गीतकार नरहरि प्रेमीको मौलिक तीज गीत सरकारी प्याउली जोबन सार्वजनिक गरिएको छ।
गीत युनिटका अनुसार पछिल्लो समय बजारमा छाडा र अश्लील तिज गीतको बाढी आइरहेका बेला मौलिकता जोगाउने उद्देश्यले यस गीतलाई तयार पारिएको हो। लोकसंस्कृति झल्काउने यस गीतमा नेपाली महिलाको तिज पर्वको भावनालाई परम्परागत शैलीमा प्रस्तुत गरिएको छ। गीतमा विष्णु प्रसाद शर्मा, नरहरि प्रेमी, पूर्णकला बि.सी. र अनिल श्रेष्ठको स्वर रहेको छ। शब्द र लय विष्णु प्रसाद शर्माको रहेको छ भने सङ्गीत निर्देशन नरहरि प्रेमीले गरेका छन्। लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका छन् भने मिक्सिङ मनोज डंगोलले गरेका हुन्।
भिडिओ पक्षमा निर्देशक राजकुमारको निर्देशनमा मोडल आशा भुसाल र पवन खतिवडा ‘बाबा’ ले अभिनय गरेका छन्। खेम थापा मगरको छायाङ्कन, अर्जुन बि.सी.को कोरियोग्राफी र सम्पादन पनि निर्देशक राजकुमारकै रहेको छ। भिडिओ नरहरि प्रेमीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
