नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउने क्रम जारी छ । सङ्गीतकर्मीहरु तिज गीतका भिडिओ बजारमा ल्याउनमा आतुर छन् । तिजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिपूर्ण छ । भड्किला गीत ल्याएर चर्चा कमाउनेहरु एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउनु हुँदैन भनेर सन्देशमूलक सिर्जना ल्याउनेहरू पनि छन् ।
यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ को भिडिओ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तिजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ ।
गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको सङ्गीत सिर्जना रहेको छ । गीतको सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ भने किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका छन् । छिमेकी, साथीसंगीको देखेर साडी लगाउने रहर, सुनको हार लगाउने रहर र झुम्का लगाउने रहर जागेको एउटा नारीको कथालाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।
‘किन्दिने हो कल्ले ?’ गीतको भिडिओमा नायिकात्रय कुन्जना घिमिरे ‘सुन्तली’, सनिशा बजगाईं र जुना सुन्दासको अभिनय रहेको छ । उनीहरुलाई सुरेन्द्र बसेल, निशान्त परियार र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको यो भिडिओ नवराज उप्रेतीले छायाङ्कन गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । भिडिओ ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
