साउन महिनाको तेस्रो साता कटिसक्दा हिन्दुहरूको महान पर्व हरितालिका तिज नजिकिँदै आइसकेको छ । सर्जक-कलाकारहरूले दैनिक तिज विशेष गीतका भिडिओहरू सार्वजनिक गरिरहेका छन्। ती मध्ये केही गीतहरूले धर्म र संस्कृतिलाई प्रवर्द्धन गर्नुको सट्टा विकृति फैलाउने प्रयास गरेका छन् भन्ने आरोप पनि लाग्दै आएको छ भने केही गीत पर्वको मर्म अनुसारका र अत्यन्तै मर्मस्पर्शी रहेका छन्।
यस वर्ष सार्वजनिक भएका तिज गीतहरूमध्ये २ साता अगाडि एक सशक्त र प्रभावशाली सिर्जना ‘चोली फाटेको’ दर्शक श्रोता माझ पस्किएका सर्जक याम प्रसाद निउरे आफ्नै सिर्जना र स्वरमा फेरि नयाँ तिज कोसेली ‘रानीहार’ लिएर दर्शक श्रोतामाझ आइपुगेका छन् । गहिरो भावनात्मक शब्दमा तयार पारिएको ‘चोली फाटेको’ गीतमा अग्रज सर्जक शिव हमालको लय रहेको छ। गायिका निशा केसीको सुमधुर आवाज र अञ्जली अधिकारीको उत्कृष्ट अभिनयले गीत एवं भिडिओलाई अझ मार्मिक बनाएको छ । यो भिडिओ धेरैको रोजाइमा पनि परेको छ ।
भर्खरै रिलिज भएको ‘रानीहार’मा भने अलिकति मायाप्रेम हाँसो ठट्टालाई उजागर गर्दै निउरेले शब्द लेखेका छन् । गीतमा चलन चल्तिकै भाका प्रयोग गरिएको छ । गायनमा निउरेलाई गायिका देवी घर्ती मगरले साथ दिएकी छिन् । प्रबिन थापाको कोरियोग्राफी/निर्देशन, राजेश घिमिरेको छायाङ्कन र सुजन कोइरालाको सम्पादनमा तयार भएको यो म्युजिक भिडिओमा स्मारिका ढकाल र सुरेस कोहलीको अभिनय तथा नृत्य देख्न पाइन्छ । दुइवटै गीत याम प्रसाद निउरे युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
