-तुलसी गिरी ‘भावुक’
नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) ले एक औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्र विकास बोर्डका नव नियुक्त सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई बधाई दिँदै सम्मान गरेको छ। सङ्घका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा राजधानीमा मङ्गलबार सम्पन्न कार्यक्रममा नव नियुक्त सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई सम्मान गरिएको हो ।
समारोहमा नव नियुक्त सदस्यहरु सन्तोष बाबु लोहनी, वीरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी एवं जाँचपास समितिका सदस्यहरु सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मान गरिएको थियो। यसैगरि समारोहमा सङ्घको २० औं साधारण सभामा ‘कलाकार सम्मान’ बाट सम्मानित तर कार्य व्यस्तताका कारण सो समयमा उपस्थित हुन नसकेकी अभिनेत्री गीता अधिकारीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी एवं नेपाल चलचित्र कलाकार सङ्घका सल्लाहकार राजकुमार राई, सङ्घका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि बैरागी, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य, कार्यसमिति सदस्यहरु शीतल केसी., गोपाल ढकाल छन्दे, रोहित रुम्बा, सरिता राजोपाध्याय, नम्रता खरेल, जयन्त रेग्मी, रोशन श्रेष्ठ, पुष्प श्रेष्ठ, सङ्घका अनुशासन समितिका संयोजक नारायण प्रधान, सञ्चारकर्मीहरु तुलसी गिरी ‘भावुक’, रघुनाथ सापकोटा, जीवन पराजुली लगायतको उपस्थिति रहेको थियो ।
समारोहमा सङ्घका अध्यक्ष मोहन निरौलाले अतिथिहरुलाई स्वागत गर्दै नव नियुक्त सदस्य तथा चलचित्र जाँचपास समितिका सदस्यहरुले आफ्नो कार्यकालमा नेपाली चलचित्रको संरक्षण, सम्बर्धन र पेशाकर्मीहरुको हकहितका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष निरौलाले हालका बोर्ड अध्यक्ष दिनेश डीसीले पूरा गरेका र गरिरहेका कामको प्रशंसा गर्दै नव नियुक्त सदस्यहरुलाई नेपाली कला – संस्कृति र राष्ट्रिय पहिचानका कुरामा संवेदनशील हुन आग्रह गर्नुभयो ।
