गण्डकी क्षेत्रको मौलिक भाकामा गायिका सरिता भारती

अहिले बजारमा विभिन्न तिज भाकाहरु आईरहेका छन् । त्यसो त यो वर्षको तिज पनि नजिकिँदै छ । यही मेसोमा तिज गीत मौलिक हुनुपर्छ भनेर केही सङ्घ संस्थाले दाबी गरिरहेको बेला लोकप्रिय गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ मौलिक तिज गीत ‘नाच्न दे’ को भिडिओ सार्वजनिक गरेकी छिन् । उनले भिडिओ गत बिहीबार बेलुका सार्वजनिक गरेकी हुन् । यो गीतको लय गण्डकी प्रदेशबाट आफैंले सङ्कलन गरेर ल्याएको कुरा सरिताले बताएकी छिन् ।

अढाई दर्जन गीत गाईसकेकी सरिताको तिजको यो दोस्रो गीत हो । यसअघि पाँच वर्ष पहिला उनले तिज गीत ‘रातो सारी लरक्कै’ बजारमा ल्याएकी थिईन् । यसपटक गण्डकी क्षेत्रमा निकै प्रचलित रत्यौली भाकालाई सङ्कलन गरेर आफूले तिजको अवसर पारेर यो मौलिक भाका श्रोता दर्शकमाझ ल्याएको गायिका सरिताले बताईन् । यो गीतको शब्द पनि सरिताकै हो । यो गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

‘नाच्न दे’ गीतमा सङ्गीत सृजना ओम सुनारले गरेका हुन् । यो गीतको सङ्गीत संयोजन पनि ओमकै हो । यसअघि ओमकै सङ्गीतमा ओम र सरिताले युगल स्वरमा सुदुरपश्चिमेली लोक भाकाको गीत ‘छोड सताउन’ दर्शकमाझ ल्याएका थिए । सो गीत रिलिज भएको आठ महिना पछि ओमको सङ्गीतमा सरिताले नयाँ गीत ‘नाच्न दे’ को भिडिओ सार्वजनिक गरेकी हुन् । भिडिओमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन् भने सोनीका रंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।

मच्छेगाउँको आश्रय होमस्टेमा छायाङ्कन गरिएको यो भिडिओका निर्देशक एवं कोरियोग्राफर कृष्ण रसाल र छायांकार / सम्पादक राजेन्द्र पाण्डे हुन् । एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो भिडिओ ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ । लामो समयदेखि म्युजिक भिडिओको कोरियोग्राफी तथा निर्देशनमा व्यस्त कृष्णले यसअघि पनि सरिताका दुईवटा गीतमा कोरियोग्राफी गरिसकेका थिए ।