चलचित्र कलाकार सङ्घद्वारा राजेश हमाललाई मानार्थ सदस्यता

नेपाल चलचित्र कलाकार सङ्घले साउन १६ गते शुक्रबार विशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको छ । सङ्घले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता राजेश हमाललाई प्रदान गरेको थाहा भएको छ।

मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्‌का,वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको उपस्थिति थियो। संघका अध्यक्ष मोहन निरौलाले परिचय पत्र हस्तान्तरण गर्दै लामो समयदेखि नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदान, स‌मर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको बताए ।

विशिष्ट चलचित्रकर्मि हमालले कलाकारको पेशागत उत्थान, नेपाली चलचित्रको संरक्षण सम्बर्धनमा संघले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान स्वरुप मानार्थ सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिए । २०४५ भाद्र २३ गते कलाकारहरुको हकहित र वर्गीय सुरक्षा एवं नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वर्द्धनका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघ नेपाली चलचित्र कलाकारहरुको एक मात्र छाता संगठन हो। नेपाल चलचित्र कलाकार संघमा नेपाली चलचित्रका सम्पूर्ण कलाकारहरु संघमा आबद्ध रहेको कुरा संघका महासचिव सबिन श्रेष्ठले बताए। कलाकार संघको स्थापना दिवसको अवसर पारि आगामी भाद्र २१,२२,२३ गते बिबिध कार्यक्रम गरी मनाउने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।