-तुलसी गिरी ‘भावुक’
केही दिन अघि भव्य रुपमा सम्पन्न १२ औं ‘म्युजिक खबर म्युजिक अवार्ड’मा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति एवं संस्थाहरुलाई धन्यवाद ज्ञापनका लागि Thanks Giving Program को आयोजना गरिएको छ l मध्य बानेश्वर स्थित घराना रेष्टुरेन्टमा शुक्रबार आयोजित सो समारोहमा अवार्ड कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि हातोमालो गर्ने प्रायोजक संस्था, सल्लाहकारहरु, अवार्ड कमिटीका सदस्यहरु, अफिसियल एमसी, अफिसियल फोटोग्राफर, साङ्गीतिक प्रस्तुति दिने कलाकार, निर्णायक कमिटीका सदस्यहरु लगायतप्रति हार्दिकता प्रकट गर्दै कदरपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो l अवार्ड समारोह सम्पन्न भए पश्चात यस प्रकारको कार्यक्रम नगण्य रुपमा हुने गरेका छन् l
समारोहमा अवार्डका सल्लाहकारहरु विशिष्ट सङ्गीतकर्मी नारायण रायमाझी, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, सांस्कृतिक अभियन्ता आरसी कोइराला, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, कानूनी सल्लाहकार राम भट्टराई, कार्यक्रम निर्देशक वरिष्ठ कला पत्रकार शान्तिप्रिय, कार्यक्रम संयोजक सविता पोखरेल, अवार्ड समितिका अध्यक्ष सुमन पण्डित, अफिसियल एमसी मञ्जु पौडेल र निराजन भण्डारी, आयोजक समितिका सदस्यहरु प्रकाश भट्ट, सीता केसी, माधवराज खरेल, सरोज कोईराला, कमला जोशी, लक्ष्मी पुरी प्रधानका साथै प्रसिद्ध म्युजिक भिडिओ निर्देशक/कोरियोग्राफर शिव बि.क. र शंकर बी.सी., वरिष्ठ कला पत्रकार सानु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो l
