प्रेमिकाको रुप र गुणको प्रशंसा गर्दै गायक सन्तोष

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक सन्तोष दुमी राईको स्वरमा रहेको आधुनिक गीत ‘मेरी उनैको’ को भिडिओ सार्वजनिक भएको छ l गायक सन्तोषकै युट्युब च्यानल SANTOSH DUMEE मा हालै मात्र अपलोड भएको यस म्युजिक भिडिओले छोटो समयमै दर्शक/श्रोताको उत्साहजनक साथ पाईरहेको छ l गीतकार युवराज भट्टराईले रचना गरेको यस गीतमा किरण कँडेलको म्युजिक एरेन्ज रहेको छ भने शम्भु कुमार तन्डुकारले मिक्सिङ/माष्टरिङ गरेका छन् l गीतमा विजय खालिङ र सन्तोष स्वयंले कोरस स्वर दिएका छन् l

किशन भुसालको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओका छायाँकार दिनेश पराजुली हुन् भने दृश्य तथा रङ्ग सम्पादन गंगाराम राईले गरेका छन् l गीतकार प्रकाशकृष्ण बाक्सिला , हिमालयन भ्याली ईङ्लीस बोर्डिङ स्कुल , काठमाण्डौ विध्यालय , साईप्रस पब्लिक स्कुल , हाम्रो सनसाइन स्कुल र गोर्खा युनिभर्सको सहकार्य एवं गाउँले इन्टरटेनमेन्ट मिडिया ग्रुपको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओका आर्ट डिजाइनर जत्त शंकर गोसाई हुन् l

भिडिओमा उमेश राई, एलिश राई, नग्मा श्रेष्ठ, एन्जल राई, सन्तोष दुमी राई र समीक्षा लामा गरी ३ जोडी कलाकारले प्रमुख भूमिकामा अभिनय/नृत्य गरेका छन् l आफूले मन पराएकी युवतीको रुप र गुणको खुलेर प्रशंसा गरिएको यस गीतमा प्रेमिकालाई आकाशको तारा, सुन्दर फूल र अकबरी सुनसँग तुलना गरिएको छ l सङ्गीतमा कताकता पूर्वेली लोक रङ्गको मिठास भरिएको यस गीतले गायक सन्तोषका अघिल्ला लोकप्रिय गीतले झैं आफ्नो फरक र अविश्मरणीय स्थान बनाउने छ भन्ने विश्वास गर्न सकिन्छ l

सन्तोषका ‘घामले आँखा खोलिसक्यो’, ‘रातभरि जून रुँदा’, ‘मुस्कुराई बस तिमी’, ‘निलो आकाश ढाकेर’, ‘सुलाम सिंसो’ ( दुमी गीत ), ‘पर्खि बस्नु है मलाई’, ‘बादलुको पर्दाभित्र’, ‘ईंकी तुम्लो रिदुम् हदुम्’ ( दुमी गीत ), मैले के भूल गरें र’, ‘नुगोबिताम नु आते आस्ता’ ( दुमी गीत ), ‘के नै रैछ र जिन्दगी’, ‘साल्पै राजा’, ‘एयर बस फोर्टी’ जस्ता गीत लोकप्रिय रहेका छन् l