रियालिटी शो : पैसा खर्च गर उपाधि जित

-तुलसी गिरी ‘भावुक’


अहिलेका ‘रियालिटी शो’हरु हेर्दा यस्तो लाग्छ, नेपाली सङ्गीत क्षेत्र गोल्डेन युगमा प्रवेश गर्दैछ l गोल्डेन युग यस अर्थमा कि वर्तमानको भन्दा प्रतिभाशाली र साधनाले खारिएको पुस्ताले अबको युग हाँक्दैछ l अघिल्लो पुस्ताका अभिभावकहरुले आफ्ना सन्ततिको भविष्य नदेखेकै कारण उनीहरुलाई सङ्गीतमा लाग्न प्रेरित गर्दैनथिए l अझ भनौं गाना-बजानामा बन्देज नै लगाउने गर्दथे l तर आजका अभिभावकहरु आफ्ना छोराछोरीलाई गीत-सङ्गीत क्षेत्रमा अघि बढाउन हर सम्भव प्रयास गरिरहेका छन् l नयाँ पुस्ताका कलाकारहरुलाई संसार सामु उजागर पार्दै उनीहरुमा आत्मविश्वाश बढाउन र उनीहरुलाई तिखार्न रियालिटी शोहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ l

देशभरिबाट प्रतिभाशाली कलाकार छानेर ल्याई राजधानीका होटलमा राखेर करोडौं खर्च गरी निर्माण गरिएका स्टुडियोमा लाइभ बाजागाजाका साथ यस्ता कार्यक्रम तयार पार्न त्यति सजिलो छैन l चानचुने व्यवस्थापन र सानोतिनो लगानीमा यस्ता कार्यक्रमहरुको कल्पना पनि गर्न सकिन्न l ठूलो खर्च र चुस्त व्यवस्थापनको विषय एउटा पाटो हो l तर बिडम्बना ! यस्ता ‘रियालिटी शो’हरुले अब्बल प्रतिभा भएका भन्दा पनि सबैभन्दा बढी पैसा खर्च गर्ने कलाकारलाई जिताउने गरेका छन् l प्रतिस्पर्धा जबजब निर्णायक र चुनौतिपूर्ण बन्दै जान्छ तबतब आयोजकहरुले अगाडि बढ्नका लागि बढी भन्दा बढी पैसा खर्च गर भनिरहेका हुन्छन् l स्पष्ट भाषामा भन्नुपर्दा ‘रियालिटी शो’ का उपाधि बढाबढमा बेच्ने गरिन्छ l यो पनि एक प्रकारको खरिद बिक्री नै हो l   

प्रतिस्पर्धामा विभिन्न तहका निर्णायकहरु बसेका हुन्छन् l राम्रो गीत गाउनेलाई उनीहरुले १०० मा १०० नम्बर दिन्छन् र गायकीकलाको खुलेर तारिफ पनि गर्छन् l तर आफू योग्य हुनको लागि पर्याप्त पैसा खर्च गर्न नसकेको कारण देखाएर गोहीको आँसु बगाउँदै एउटा होनहार प्रतिभालाई निर्मम तरिकाले प्रतियोगिताबाट निकालिदिन्छन् l आखिर जसले बढी पैसा खर्च गर्न सक्छ प्रतियोगिता उसैले जित्ने हो भने उत्कृष्ट गायकीको के अर्थ ? निर्णायकहरुले नम्बर दिनु र तारिफ गर्नुको के औचित्य ?

पैसाको खोलो बगाएर पहिरिएको ताजले कसैको भविष्य बनाउँछ भन्ने विश्वाश कदापि गर्न सकिन्न l आज ताज पहिरिएको कलाकार भोलि बजारमा गुमनाम भयो भने अथवा प्रतिस्पर्धाको दौडमा ऊ खरो उत्रन सकेन भने यस्ता ‘रियालिटी शो’हरुको शाख र उद्देश्यमाथि प्रश्नचिन्ह लाग्दैन र ? उदाहरणका लागि ‘इण्डियन आइडल’लाई लिन सकिन्छ l प्रशान्त तामाङका लागि नेपालीहरुले करोडौं रुपैया खर्च गरे र जिताए पनि l तर त्यो जितको खुशी धेरै टिकेन l उनमा महत्वाकाङ्क्षा मात्र बढ्यो l उनी बलिउडमा खरो उत्रन सकेनन् र अन्ततोगत्वा त्यो जित उनको लागि अभिशाप भयो l नेपालमै पनि यस्ता धेरै उदाहरणहरु छन् जो रियालिटी शो जितेर पनि सङ्गीत क्षेत्रबाट गुमनाम जस्तै छन् l कहिले नेपाली भएको नाममा, कहिले जिल्लाबासी त कहिले जात या सम्प्रदायको नामामा यस्ता प्रतियोगीहरुलाई जिताउन अभियान नै चलाउने गरिएको छ l राम्रोलाई हैन हाम्रोलाई जिताउन चाहनु हाम्रो बाध्यता नै होला l किनकि यस्ता शो आयोजकहरुले कार्यक्रमको डिजाइन नै त्यसरी गरेका हुन्छन् l  

‘रियालिटी शो’हरुमा कसलाई जिताउने या राम्रो गाउँदा गाउँदै बिचैमा कसलाई निकाल्ने भन्ने आयोजकहरुको आफ्नै व्यावसायिक बाध्यता होला तर यस्ता निर्णयहरु जो कोहीलाई पनि स्वाभाविकै रुपमा अत्यन्तै विवेकहीन, कठोर र पक्षपाती लाग्छन् l झट्ट हेर्दा प्रतिभाको कदर गरेजस्तो देखिए पनि कार्यक्रमले प्रतिभाको कदर भन्दा व्यापारलाई नै प्राथमिकता दिएको हुन्छ l             
अत: यस्ता रियालिटी शोहरु राम्रो प्रतिभाको खोजीको नाममा, अवसर नपाएर गुमनाम रहेका प्रतिभालाई प्लेटफर्म दिने नाउँमा गरिने विशुद्ध व्यापारिक उद्देश्यका कार्यक्रम हुन् भन्दा फरक पर्दैन l भन्नलाई ‘रियालिटी शो’ भनिए पनि यिनलाई ‘फेक शो’ भन्दा गलत पक्कै हुँदैन l तथापि गीत-सङ्गीतको क्षेत्रमा यस्ता कार्यक्रमहरुको सकारात्मक प्रभाव परिरहेको कुरालाई भने नकार्न सकिँदैन l