कोरियाबाट फर्केर गायनमा भिड्दै गुराँस


नामै गुराँस । गायक गुराँस भट्टराई पनि नेपालको राष्ट्रिय फूल झैं फक्रिएर साङ्गीतिक सुवास र सुर छर्न चाहन्छन् । त्यसैले भिडेका छन्, गायन अनि सङ्गीत साधनामा ।

कोरियाको चमकधमक र कमाइले उनलाई भुलाएन । माँस मदिरा र मोजमस्तीले डुबाएन । बिहानदेखि साँझसम्म हार्मोनियममा औंला खेलाएर राग रागिनीको अभ्यासमा लिप्त छन्, तपस्वीझैं । शुद्ध शाकाहारी, सङ्गीतका अनुरागी ।

भैरहवा र बुटवलमा बाल्यकाल बिताएका गुराँस तन्नेरीवयमा काठमाडौं आए । पढ्दा पढ्दै सानोतिनो व्यवसायमा लागे । उनले ठाने, गोजीमा दाम छैन भने केही पनि काम छैन । अनि हान्निए, कोरियन भाषा पढन । टुप्पी कसेरै पढे, कोरियन भाषा । इपीएस पास गरेर लागे कोरियातिर ।

कोरियामा कर्म नै भगवान । कामप्रतिको सम्मान र महत्व उनले सिके । दैनिक १८ घन्टा काम गर्थे । जब साँझ पर्थ्यो, अनि कोठामा गुनगुनाउँथे, नारायणगोपाल र मोहम्मद रफीका गीत । सुसेल्थे लोकभाका ।

नेपाल र नेपालीपनले उनलाई छाडेन । कोरियामा पनि साथी सङ्गीमाझ गाउन छाडेनन् । स्वरको सुर्ता थिएन, त्यो त जन्मजात गायन रसमा भिजेर आएको थियो । आमा मैयाँ भट्टराई रेडियो नेपालकी गायिका, बुबा रामचन्द्र भट्टराई कवि अनि दाजुहरु दीपक र कुसुम दुबै गाइरहने । घरको माहौल नै सङ्गीतमय । यही कारण कोरियामा पनि उनको मनभित्रको गायन हुटहुटी मर्न पाएन, जागिरह्यो ।

सात आठ वर्ष कोरियामा हात र गोडामा ठेला उठुन्जेल काम गरेर फर्केपछि उनलाई लाग्यो, अब चाहिँ जीवनमा दामको सन्तुलन भयो, अब सङ्गीतमै भिड्नुपर्छ । अनि रेकर्ड गराए एकाध गीत । आफ्नो स्वर आफैंले सुन्दा रमाए केहीदिन । साथीभाइले पनि स्याब्बासी दिए । एफएम र युट्युबमा घन्किन थाल्यो उनको पहिलो गीत- ‘अझै पनि तिमीलाई माया गरिरहन्छु ।’

लगत्तै अर्को गीत रेकर्ड गराए, ‘दशैं आयो, तिहार आयो ।’ यो गीत पनि युट्युबमा भाइरल उन्मुख हुन थाल्यो । अनि हौसिएर तेश्रो गीत रेकर्ड गरे, ‘मन अनि धड्कन ।’ गायिका अनुसँगको यो युगल गीतबाट गुराँसको स्वर खारिएको महसुस गरे, सुन्नेहरुले । यद्यपी चित्त बुझेको थिएन उनलाई । अनि एकदिन ठहर गरे, सङ्गीत नसिकी केही हुन्न । अनि लागे गुरु चण्डीप्रसाद काफ्लेको सान्निध्यमा । दुइवर्ष हुन लागिसक्यो उनले गुरु चण्डी काफ्लेसँग शास्त्रीय सङ्गीत सिक्न थालेको । बिभिन्न सरगम, अलङ्कार र राग सिक्दै अभ्यास गर्दै सङ्गीत साधनमा लिन रहेका गुराँस भन्छन्- ‘सङ्गीतमा डुब्नुको मजा बेग्लै छ ।’

कोरोना कहरले पनि उनको सङ्गीत साधनामा छेकबार लगाएन । गुरुले अनलाइन सङ्गीत प्रशिक्षण सुरु गरेपछि गुराँस र उनका साधक साथीहरुमा खुशीको बहार छायो । लकडाउन अवधिमै गुरुले राग दुर्गा र राग भैरवीबारे यथोचित ज्ञान दिनुभयो ।

हुन त अहिले बजारमा आएका हिट गीतका गुराँस पनि प्रशँसक हुन् । राज सिग्देलदेखि शिव परियारसम्म, दुर्गेश थापादेखि एलिना चौहानसम्मका गीत सुन्न छुटाउँदैनन् । तर, उनलाई हिट हुने नहुने भन्दा पनि सङ्गीतको गहिराइसम्मै पुग्नु छ । त्यसैले त शास्त्रीय सङ्गीतको साधना जारी छ ।

के गुराँसको सङ्गीत अनुराग अहिले आएर मात्र जागेको हो त ? पक्कै हैन । कुनैबेला चर्चित गीतकार थिए उनी । एकताका एफएफ प्रसारणमा ‘मुसुक्क हाँस्दा खाल्डो पर्यो ज्यान तिम्रो गालामा’ बोलको गीत निकै चर्चित थियो । ‘गालामा खाल्डो’ र ‘ज्यान तिम्रो’ भन्ने विम्ब आफैंमा नयाँ प्रयोग थियो, जुन विम्ब कालान्तरमा ‘डिम्पल पर्ने गाला’ भन्ने रुपमा पनि गीतमा प्रयोगमा आयो । गुराँसले लेखेको त्यो गीत त्यसबेलाका चर्चित गायक दीपक पाण्डे र शर्मिला बर्देवाले गाएका थिए ।

अर्को गीत त झन् सुपर हिट थियो । चर्चित रक ब्याण्ड ‘रेड पल्र्स’ले गाएको ‘गहिराइमा डुब्न खोज्छु म’ ले हिट्स एफएममा तहल्का पिटेको थियो । गीत लेख्दा लेख्दै कोरियातिर लागेका गुराँसमा सङ्गीतको रहर त्यसै कहाँ मेटिन्थ्यो र ? फर्कनासाथ फेरि भिडे, सङ्गीतमा ।

अब उनको एउटै धोको छ, सङ्गीतमा गहिरो साधना गर्ने र सङ्गीतलाई जीवनकै अभिन्न अङ्ग बनाउने । हिट हुनु र नहुनुसँग पनि उनलाई मतलब छैन । गुराँस टिपेर कसैले सिउरिए पनि भो, परैबाट हेरेर त्यसको सौन्दर्य पान गरेपनि भो । गुराँस भन्छन्, ‘म खासमा मेहदी हसन, गुलाम अली अनि जगजीत सिंहजस्ता गायकका गीत मन पराउँछु र मलाई लाग्छ उहाँहरुले जस्तो गाउन मैले धेरै वर्ष साधना गर्नुपर्छ । तर, लक्ष्य के लिनु उडी छुनु चन्द्र एक ।’

गुराँसको बैठक कोठामा किबोर्ड पनि छ । तबला पनि छ । इलेक्ट्रीक बाद्ययन्त्र र हार्मोनियम पनि छ । माइक र अन्य साधन पनि छन् । सुर, ताल, गायन, बाद्यबादन सबैमा उनको बिस्तारै दखल हुँदैछ । सङ्गीतलाई समग्र पाटोबाट अध्ययन गरी सङ्गीतकै भमरा हुने रहर छ, उनको ।

हालै मात्र गुराँसले जीवन दर्शनमा आधारित गीत ‘नबुझिने कथा हो जिन्दगी’ को भिडियो ल्याएका छन् । गुराँसकै शब्द र स्वर रहेको यो गीतमा उदीम राईले मार्मिक सङ्गीत भरेका छन् । लकडाउन अवधिमा रेकर्ड गरिएको यो गीतमा जीवनको यात्रा कहाँ पुग्छ र कतिबेला स्वप्न झैं टुटछ त्यसको भर नहुने भाव पोखिएको छ ।