– तुलसी गिरी ‘भावुक’ –
ध्रुव के.सी. ‘गुमनाम’को एकल शब्दरचना र ईश्वर खत्रीको एकल सङ्गीतको गजल सङ्ग्रह ‘समय आएपछि’ एक औपचारिक समारोहमा सार्वजनिक भएको छ l काठमाण्डौको शान्तिनगरस्थित नि:सहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहमा केहीदिन अघि आयोजित समारोहमा सो गजल सङ्ग्रह लोकार्पण गरिएको हो l कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार दीपक जंगम, साहित्यकार एवं समीक्षक विनोद मन्जन, समाजसेवी शिव कोईराला, डी. ए. आर. मुभिज एण्ड फिल्म्सका तर्फबाट प्रभावन जे र डी. एन. दाहाल, सङ्गीतकारद्वय किरण कँडेल र राजेश थापा, वृद्धाश्रमका प्रशासकीय सहायक योगेन्द्र अधिकारी र सङ्गीतकार ईश्वर लगायतका अतिथिहरुले सो गजल एल्बमको संयुक्त रुपमा लोकार्पण गरेका थिए l लोकार्पण पश्चात एल्बमकै एउटा गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो भने सङ्गीतकार ईश्वर खत्रीको तर्फबाट आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाईएको थियो l आफ्ना आमाबुबा दुबै जीवित नभएकोले आमाबुबाको सम्झनामा वृद्धाश्रममा कार्यक्रम राखिएको कुरा सङ्गीतकार खत्रीले बताएका छन् l
‘समय आएपछि’ गजल एल्बममा ‘एकैछिन् पीडाहरु भुलेर, मेरैलागि वरमाला सजाएकी, समय आएपछि, जितायो कसैलाई ऊ हारेर, तिम्रो कल्पनाको महल ढल्यो भने र हिंडेछन् आधी रातमा’ गरी ६ वटा गजल समावेश भएका छन् l २ वटा गजल मेल-फिमेल भर्सनमा समेत भएकोले एल्बममा ८ वटा ट्रयाक सुन्न सकिन्छ l जसमा स्वरुपराज आचार्य, शिव परियार, प्रमोद खरेल, सत्यराज आचार्य, अन्जु पन्त, बानिका प्रधान, सुजाता वर्मा, राज सिग्देल र ईश्वर खत्री स्वयम्ले स्वर दिएका छन् l मिलेका मिटर र अनुप्रास अनि गहिरा र मौलिक भाव प्रस्तुतिले गजल गहकिला बनेका छन् भने भारतीय परम्परा भन्दा केही भिन्न अर्थात नेपाली पनको कम्पोजिशन र म्युजिक एरेन्जले गजलको स्वादमा पृथकता झल्किएको छ l यस एल्बम मार्फत सङ्गीतकार ईश्वर खत्रीले नेपाली सङ्गीतकारहरु भारतीय या परम्परात्मक शैलीको दास बन्न जरुरी छैन भन्ने सन्देश समेत दिएको महसुस गर्न सकिन्छ l
पिता स्व. भीम बहादुर खत्री र माता स्व. गोमा बस्नेतको परिवारमा ११ छोराछोरीपछि कान्छो सन्तानको रुपमा काभ्रेपलान्चोक, च्यासिङ्खर्क-८ मा जन्मिएका ईश्वर, पछि काभ्रेकै बनेपा हुँदै काठमाण्डौका वासिन्दा भएका थिए l उनी विगत पाँच बर्षदेखि क्यानडा बस्दै आएका छन् l
नेपाली सङ्गीत क्षेत्रमा यतिबेला उनको नाम चर्चामा नरहे पनि सङ्गीतकर्ममा उनले आफ्ना जीवनका कयौं वसन्तहरु बिताएका छन् l ‘मैले सारेगम सिकेको चाहिं ०५५ सालमा गुरु कमल क्षेत्रीसँग हो l त्यसपछि राष्ट्रिय नाचघरमा छात्रवृत्ति पाएर गुरु चन्द्रराज शर्मा, सुदेश शर्मा र कमल क्षेत्रीसँग १ बर्ष र नाचघरपछि इन्दिरा कलानिधिमा गुरु धन बहादुर गोपालीसँग शाश्त्रीय गायन सिकें’ उनी भन्छन् l ईश्वरले कलालिधिमार्फत प्रयाग सङ्गीत समितिबाट सङ्गीतमा बि. म्यूज सम्मको अध्ययन पूरा गरेका छन् l ‘सुरुमा गायक नै बन्छु भनेर यस क्षेत्रमा आएको थिएँ l फाट्टफुट्ट गाउँदै पनि गईयो l राष्ट्रिय नाचघरमा सङ्गीत सिक्दैगर्दा त्यहाँ मन्चित नाटक ‘सोरठी’ को मेन भोकलिष्ट म नै थिएँ l नाटकमा लाइभ गाउनुपर्थ्यो l त्यो बेला हामी दरबारसँग जोडिएका धेरै कार्यक्रमहरुमा पनि गीत गाउँन गईरहन्थ्यौं l जब बुझ्दै गएँ, सङ्गीत गर्न पनि मन लाग्न थाल्यो l प्रज्ञा प्रतिष्ठानद्वारा २०६० र २०६१ मा आयोजित राष्ट्रिय गीत सम्मेलनमा मेरो सङ्गीतका १ – १ वटा गीत छनोटमा परी १२ – १२ हजार रुपैंया पाउँदा खुशीले मन नाचेको थियो’ उनले आफ्नो सङ्घर्षमय ती दिनहरु सम्झिए l ०५६ सालमा आयोजित बागमतीअंचल स्तरीय लोकगीत प्रतियोगितामा समेत उनको समूह प्रथम भएको थियो l
क्यानडा प्रवेश गर्नुअघि अर्थात लगभग पाँचबर्ष अगाडि उनले एकल सङ्गीतमा राष्ट्रिय भावको ‘मधेश, पहाड, हिमाल’ र आधुनिक शैलीको ‘सङ्गीत’ गरी दुई एल्बम एकैसाथ सार्वजनिक गरेका थिए l ‘समय आएपछि’ उनको एकल सङ्गीतको तेस्रो एल्बम हो भने गजलको पहिलो l आफ्नो सङ्गीतमा साँढे २ दर्जन, स्वरमा ८ वटा र शब्दरचनामा ४ वटा गीत रेकर्ड गरिसकेका ईश्वर आफूलाई पहिले सङ्गीतकार र त्यसपछि गायक भनेको मन पराउँछन् l ‘म आफूलाई अलिअलि लेखक पनि भन्न रुचाउँछु’ उनले हाँस्दै भने l ०५९ सालमा रेडियो नेपालमा आधुनिक गायनमा स्वर परीक्षा पास गरेका ईश्वरको स्वर रेडियो नेपालबाट ०५९ सालमै प्रसारण भएको थियो l ‘आधुनिक गीत सम्मेलनमा मैले दीपक कौडिन्यको शब्द र मेरो आफ्नै सङ्गीतमा ‘मान्छे सबै उस्तै हुन्नन्’ बोलको गीत गाएको थिएँ l मेरो पहिलो रेकर्डेड गीत चाहिं ‘दिल चोरी लग्यौ तिमीले’ हो l लाओस कुमार राईको रचनाको यो गीतमा मेरो सङ्गीत र स्वर थियो’ उनले जानकारी गराए l
काठमाण्डौमा सङ्घर्षको चरणमा ०५७ देखि ०६४ सम्म उनले बिभिन्न स्कूलहरुमा सङ्गीत शिक्षकको रुपमा समेत काम गरे l ०६१ मा अंग्रेजी साहित्यमा र ०६२ मा मानवशास्त्रमा माष्टर्स गरेपछि ०६३ बाट उनले कलेज पढाउन थालेका थिए l ‘पेशागत व्यस्तताले गर्दा बिस्तारै प्राध्यापन मुख्य पेशा र सङ्गीत सोख मात्र बन्दै गयो’ उनी यथार्थ सुनाउँछन् l क्यानडा गएपछि त्यहाँ फेरि सिभिल इन्जिनियरिङ गरेका ईश्वर हाल त्यही विषयसँग सम्बन्धित काममै व्यस्त रहँदै आएका छन् l ‘सङ्गीत मझेरी’ नामक समूह मार्फत क्यानडामा पनि साङ्गीतिक गतिविधिमा व्यस्त रहँदै आएका उनी भन्छन् -‘स्थानीय रुपमा हामी कार्यक्रम गरिरहन्छौं l साङ्गीतिक कार्यक्रमका लागि हामीलाई बाहिरबाट कलाकार मगाउनै पर्दैन l’ नेपाली सङ्गीतको विकाश र विस्तारका लागि प्रवाशी नेपालीहरुको ठूलो योगदान रहँदै आएको छ भने यकिन तथ्याङ्क नभएपनि लगानीको हिसाबले गीत तथा भिडियो उत्पादनको लगभग आधा हिस्सा उनीहरुले नै धानिरहेका छन् l तन जहाँ भएपनि मन नेपाल र नेपालकै कला र संस्कृतिमा भएका ध्रुव के.सी. र ईश्वर खत्री जस्ता सर्जकहरुको यथोचित मूल्याङ्कन अनि कदर भने अझै हुन सकेको छैन l
video link