नेपाली लोकगीत सङ्गीतमा लागेका अधिकांश कलाकारलाई कहिले र कसरी साङ्गीतिक यात्रा सुरुआत गर्नुभो भन्ने प्रश्न सोध्दा अधिकांशको जवाफ ‘SLC पछिको अध्ययन पूरा गर्न राजधानी छिरेपछि’ भन्ने नै हुन्छ । ‘भलै रुचि सानैदेखिको होस्, क्षमता अलग विषय हो । जुन हरेकले जन्मदै लिएर आएका हुन्छन । अनौपचारिक संलग्नता पनि हुने नै भयो, गाउँघरमा त्यस्तै माहौल हुन्छ । तर यहाँ चर्चा गर्न लागिएको छ यस्ता एक कलाकारको, जो आफ्नो विद्यालयस्तरीय शिक्षाको खुड्किलो SLC पास गर्नुअघि नै औपचारिक रुपमा गायन मार्फत कलाकारितामा प्रवेश गरेका थिए ।
२०६४ सालमा पहिलो गीत रेकर्ड गर्दा समुन्द्रराज पौडेल जम्मा ९ वर्षका फुच्चे थिए । आफ्नै अंकल प्रतापराज पौडेलको साथ र सहयोगमा प्रेमसागर पौडेलको शब्द सिर्जनामा उनले गाएको ‘छोराले बाउ भुल्ने बेला भो’ उनको ‘डेब्यु’ गीत थियो ।
आरुचौर- ८ स्याङ्जामा गोविन्दराज पौडेल र गीतादेवी शर्माको कोखबाट जन्मिएका समुन्द्र कलाकार प्रतापराज पौडेलका भतिजा त थिए नै, साथमा उनी भित्रको प्रतिभाले सानै उमेरमा औपचारिक गायकी थालनी गर्न सफल भए । बालगायक समुन्द्रको गायकीको परिधि फराकिलो हुँदै गयो । उनको दोस्रो गीत उही वर्षभित्रै ‘वर्ष दिनको तीज आयो’ साङ्गीतिक बजारमा आएको थियो । उनी बालप्रतिभाको रूपमा गायनमा जम्ने क्रममै थिए । पुन: १२ वर्षको हुँदा उनले सिर्जनात्मकताको अर्को नमूना पेश गरे ‘मर्नेगरि पिपल न सार’ । यसपटक उनले गाएनन् मात्रै गीतको लय समेत आफैं बनाएर श्रोता-दर्शकलाई अचम्मित पनि पारिदिए । त्यस्तै १५ वर्ष लाग्दैगर्दा उनले तीज गीत ‘कान्छी छोरी जान्छु भागेर’ स्वरवद्ध गरे ।
९ वर्षको बाल्यकालमा गायन यात्रा थालेका समुन्द्रको गायकी १५ वर्षको पुग्दा उचाई र गहिराई दुबै हिसाबले अब्बलताको कसीमा जाँचपास भैसकेको थियो । गायनले एउटा फड्को मारिसकेको भएपनि उनले गाउँको माया भने मारेनन् । कलाकारिता र अध्ययनको फराकिलो दायरा खोज्दै उनी काठमाडौ हानिनै परेन । गाउँकै स्कुलमा निरन्तर अध्ययन गरे । बीचबीचमा रेकर्डिङका लागि काठमाडौ आउनु त छँदै थियो ।
काठमाडौ यात्रा र पहिलो गीत रेकर्ड गर्दाको अनुभव सम्झिंदा उनमा अहिले पनि उही बालापन झल्कियो । थोरै लजाए समुन्द्र । पहिलो रेकर्डिङका लागि अंकल प्रतापसँग काठमाडौ आएर स्टुडियो पुगेका उनलाई स्टुडियोभित्र एक्लै छोडेर अंकलले बाहिरबाट चुकुल लगाइदिंदा कताकता डर लाग्यो । उनले त्यो बालापनको रमाइलो अनुभूति उत्साहित हुँदै सुनाए -‘कानमा हेडफोन लगाइदिएर अंकल बाहिर निस्किनु भो । एकछिन त अत्तालिएँ । हेडफोनमा आफ्नै आवाज आउँछ, अचम्म लाग्यो । गीत गाएर बाहिर आएँ, आफ्नै स्वर आफैंलाई अनौठो लाग्यो । दोस्रो गीतमा भोकल गर्न काठमाण्डौ आउनुपर्दा अंकल काम विशेषले संगै आउन भ्याउनुभएन । पोखराबाट माइक्रो चढाइदिनुभयो । बाटोमा सहचालक यो बच्चा कसको हो काखमा लिनुस होइन भने भाडा लाग्छ भन्दै करायो । म यत्तिकै बसिरहेँ । बसपार्कमा प्रेमसागर अंकल आएर रिसिभ गर्नुभयो । मैले भाडा पनि तिर्न परेन ।’ त्यसयता उनको आत्मबल बढ्न थाल्यो । धेरै गीत एक्लै स्टुडियो छिरेर गाएका छन् उनले, तर भन्छन्- ‘प्रताप अंकल र प्रेमसागर अंकलको प्रेरणाले उहाँहरुकै पदचाप पछ्याउँदै यो क्षेत्रमा लागेको हुँ । उहाँहरुको मार्गदर्शन र हौसला मेरालागि सधैं अमूल्य रहन्छ । गाउँघर वरपर सबै आफन्तले मेरो गीत रेडियो-टिभिमा बजेको देखेर मलाई दिने हौसला, प्रेरणा र मायामा त कहिल्यै कमी भएन नै, यसैबीच रेडियो सराङ्कोटबाट मेरो गीत बजेको सुनेपछि वरिष्ठ सङ्गीतकार नवराज बरालले मलाई खोजेर भेट्नुभयो र मलाई पोखरामा रहेको त्रिवेणी सङ्गीतालयमा आजीवन सङ्गीत शिक्षा नि:शुल्क गरिदिने कुरा गर्दै उहाँले मेरो अगाडि बोलेका ती शब्द अझै मेरो कानमा गुन्जिरहन्छन् ।’ ‘बाबू यति सानो उमेरमा यस्तो मीठो गाउँछौ, गीत-सङ्गीत जति सिक्यो उति तिखारिदै जाने कुरा हो मलाई थाहा भैसक्यो । तिमी गीत-सङ्गीतबाट टाढा रहने छैनौ । तिमीलाई मकहाँ आएर सङ्गीत सिक्न सधैंको लागि मेरो सङ्गीत विद्यालयको ढोका खुला रहने छ र म कुनै शुल्क लिने छैन ।’ ‘गुरुले यसरी प्रत्यक्ष मलाई आशिर्वाद र त्यो हौसला दिएको भएर पनि म सधैं साङ्गीतिक यात्रामा हौसिएँ, तर परदेश त परदेश नै हो सोचेकै र चाहेकै जति गर्न सकेको छैन ।’
ब्याचलर सम्मको अध्ययन नेपालमै सकेका समुन्द्र हाल अध्ययन र कामको सिलसिलामा जापानमा छन् । दर्जनभन्दा बढी गीतमा स्वर र लय भरेका समुन्द्रको स्वदेशको अनुपस्थितिलाई बिर्साउने उत्कृष्ट सिर्जनामा ‘भगाएर लैजाऊ’, ‘जापानको साडी’, ‘गरीब’, ‘चर्चा निकै छ’, ‘हत्यारा’ आदि अग्रपंक्तिमा पर्दछन् । यी मध्ये ‘भगाएर लैजाऊ’ पछिल्लो समय चर्चाको शिखरमा छ । जसमा विष्णु माझी र उनै समुन्द्रको स्वर अङ्कित छ ।
२०७२ मा जापान लागेका समुन्द्र अध्ययनका अतिरिक्त जागिर पनि गर्छन् । सानैदेखिको राम्रो प्रतिभा, निक्कै कम उमेरमा औपचारिक कलाकारिताको सुरुआत, स्वरमा मिठास, लाइभ दोहोरीमा दक्खल र गाएका सबैजसो गीत श्रोतामाझ लोकप्रिय भएका कारणले पनि उनको पहिचान भिन्न छ । कलाकारितालाई पेशाको रूपमा अँगालेर व्यावसायिक गायक बन्न यतिले पनि पुग्दैनथ्यो र ? उनी भन्छन्- ‘गीत-सङ्गीतको बजार राम्रो देखिन । न त वर्तमान न भविष्य । प्रतिस्पर्धा गर्ने क्षमता हुँदाहुँदै पनि भविष्यको चिन्ताले लखेटिरह्यो । बच्चैदेखि साङ्गीतिक नसाले गाँजेकै थियो । तर के गर्नु ? करिअर पनि त सोच्नुपर्यो।’
करिअरको जन्जिरले बाँधेपछि साङ्गीतिक भोक हराएको त होइन ? हामीले प्रश्न तेर्स्यायौं । “अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नै पर्यो । बाँकी समय सुपर मार्केटको काम । व्यस्तता नै मुख्य तगारो बन्दो रहेछ । निक्कै गार्हो छ, तरपनि मुस्किलले मिल्ने थोरै फुर्सदको सदुपयोग गर्ने गरेको छु’ उनी भन्छन् । जापानको व्यस्त दैनिकीबीच लोकदोहोरीका लागि केही समय छुट्टयाउन सकेकोमा सन्तुष्टि झल्किन्थ्यो उनको अनुहारमा । यसैक्रममा उनले युनिक मल्टिमिडिया संगको सहकार्यमा सर्जक तथा गायकसँग साङ्गीतिक कार्यक्रम चलाएको प्रसङ्ग पनि उल्लेख गरे । लोकदोहोरी प्रतिको लगाव परदेशमै भएपनि कम नहुने रहेछ । त्यसैले त उनी जापानमा हुने हरेकजसो कार्यक्रममा भ्याएसम्म पुग्ने गरेका छन् । यतिमात्र नभएर उनी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जापान शाखाको सदस्य तथा स्याङ्जा समाज जापानको सांस्कृतिक संयोजकको जिम्मेवार भूमिका निभाइरहेका छन् ।
-कृष्णा आचार्य ‘रोशनी’