रोयल्टी वितरण मापदण्ड सम्बन्धमा अन्तरक्रिया

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र तीनवटै रोयल्टी सङ्कलन संस्थाहरुको संयुक्त आयोजनामा रोयल्टी वितरण सम्बन्धी मापदण्डका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l नयाँ बानेश्वर, थापागाउँस्थित थापागाउँ पार्टी प्यालेसमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा उपस्थित गीतकार, सङ्गीतकार, गायक-गायिका र सङ्गीतका उत्पादकहरुसंग लिखित रुपमा बुँदागत राय समेत लिईएको थियो l कार्यक्रम डाटा नखुलेका क्षेत्रका रोयल्टी के कस्तो मापदण्डका आधारमा कस कसलाई वितरण गर्दा न्यायोचित हुन्छ भन्ने विषयमा केन्द्रित थियो l
तीनवटै रोयल्टी संकलन संस्थाका अध्यक्ष सुरेश अधिकारी, तुलसी पराजुली र निर्मलराज ढकालको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देल, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, राजेन्द्र थापा, अग्रज गायिका तारा थापा, वरिष्ठ गायक/सङ्गीतकार जगतमर्दन थापा लगायत स्रष्टा/कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो l वक्ताहरुले बोल्ने क्रम सकिएपछि म्युजिक ब्यवसायीहरु सुबास रेग्मी, कस्तुप पन्त, बि. पाण्डे, बाबुराजा के. सी., रामजी पन्त लगायत सर्जक/कलाकार पुरुषोत्तम न्यौपाने, सङ्गीतकार वसन्त सापकोटा, गायिका अनिता श्रेष्ठ लगायतले आफ्ना थप सुझाव, जिज्ञासा तथा प्रश्नहरु राखेका थिए l कार्यक्रममा यो अन्तरक्रिया अन्तिम नभएको र सरोकारवालाहरुको थप राय सुझावहरुकै आधारमा डाटा नखुलेका रोयल्टी वितरणको मापदण्ड निर्धारण गरिने कुरा आयोजक संस्थाले जानकारी गराएका छन् l