‘स्कुल पढ्दैदेखि आफैँ गीत लेख्थें, लय बनाउँथें र गाउँथें l त्यही लय बनाउने मान्छेलाई नै सङ्गीतकार भनिदोरहेछ l एस.एल.सी. गरेर काठमाडौँ आएको धेरैपछि मात्र त्यो कुरा थाहा पाएँ l’ नेपाली सङ्गीतको मूलधारका व्यावसायिक सङ्गीतकारहरु मध्येका एक दीपक शर्मा भन्छन् l उनी सानैदेखि गीत-सङ्गीतप्रति आकर्षित थिए l स्कुले उमेरमा स्थानीय ठाउँमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुमा धेरैपटक स्टेज उक्लिएका र पुरस्कृत भएका सम्झनाहरु आजपनि ताजै छन् उनका मन मस्तिष्कमा l
बि.स.२०४२ साल भदौ २१ गते पिता हरिलाल जैसी र माता गौमती जैसीको कोखबाट म्याग्दी-५, कुहुँमा जेठो सन्तानको रुपमा जन्मिएका दीपक उच्च शिक्षा र सङ्गीतमा केही गर्ने अभिलाषा बोकेर ०६० सालमा राजधानी प्रवेश गरेका थिए l सुरुमा श्रुति सङ्गीत विद्यालयमा गुरु राम सिटौलासंग शास्त्रीय सङ्गीतको सैद्धान्तिक र व्यवहारिक ज्ञान लिएका दीपकले त्यसपछि भोला राई र गुरुदेव कामतसंग समेत सङ्गीत सिके l उनले प्रेमचन्द्र ओझैयासँग तबला र राजकुमार मालाकारसँग गितारको शिक्षा लिएका थिए भने हाल किशोर गुरुङसँग पाश्चात्य सङ्गीतबारे सिकिरहेका छन् l
कुनैपनि कर्म-पेशामा सफल रुपमा अगाडि बढ्नको लागि कर्म र भाग्य दुबैले साथ दिनु पर्दछ l कर्म आफैँभित्रको प्रतिभा, आत्मविश्वास, साहस, लक्ष, निरन्तरता र लगनशीलता हो भने भाग्य समयले निर्धारण गर्दछ l दीपक शर्मा त्यो कर्मशील र भाग्यमानी थोरै सर्जक मध्येका एक हुन् जो युवा उमेरमै एक व्यावसायिक सङ्गीतकारको रुपमा स्थापित भए l उनी सिक्दैछन् र सिर्जना पनि गर्दैछन् l उनको सफलताको अर्को रहस्य भनेको सिर्जनशीलता सँगसँगै उनको वरिपरिको अनुकूल वातावरण पनि हो l जुन कुरासँग उनको व्यवहारिक गुणले प्रत्यक्ष सम्बन्ध राख्दछ l अर्थात् उनका असल आचरण, अग्रजहरुप्रतिको सम्मान भाव, सरल अनि शालीन व्यवहार पनि सिर्जनशीलता सँगसँगै उनलाई अगाडि बढाउने सहयोगी रहस्यहरु हुन् l
आफ्नै शब्द, सङ्गीत र स्वरमा पहिलोपटक ‘ढल्के पिपल’ बोलको गीत रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा आरम्भ गरेका दीपकले यात्राको क्रममा सङ्गीत सिर्जनालाई मुख्य विधाका रुपमा अंगाले l उनको सपना पनि सङ्गीतकार बन्छु भन्ने नै थियो l तथापि गीत रचनालाई पनि उनले विराम भने लगाएका छैनन् lउनका शब्दरचनामा पनि धेरै हिटगीत बजारमा आएका छन् l उनी यदाकदा गीत पनि गाइरहेका छन् भने सङ्गीत सिर्जना सँगसँगै उनको अर्को प्रमुख कर्म सङ्गीत संयोजन पनि हो l l ‘मलाई आफ्नो बनाएर’ बोलको आधुनिक गीतबाट उनले सङ्गीतकारको रुपमा ‘यु टर्न’ लिएका थिए भने त्यसपछि ‘रुँदै हुन्छेउ जहिले पनि, जिन्दगीकै सवाल हुन्छ, तिमी त मेरो प्राण हौ, छुट्टिएर तिमीसँग, सबैले मलाई घृणा गरेपनि’ लगायतका गीत पनि स्रोताले सर्वाधिक मन पराएका छन् l चलचित्रतर्फ भने उनका सङ्गीतका ‘आँधी खोला उर्लिएर {सम्झिराख है }, तिम्रा डोलाडोला हातमा { हवल्दार सुन्तली }, तिम्रो पिक्चर हिट { किस्मत-२ }, देख न चम्पा {छक्का पञ्जा }, पर्ख पर्ख मायालु {मङ्गलम }’ लगायतका गीतले बजारमा वर्चस्व कायम गरेका थिए l सबै प्रकारका गरी लगभग ५ सयको हाराहारी गीतमा सङ्गीत गरिसकेका दीपकले तेजाव, तहल्का डट्कम, धमाका, सम्झिराख है, दबाब, बर्बाद, अप्रिल फुल, लभ यु बाबा, हवल्दार सुन्तली, ब्रासलेट, किस्मत-२, छक्का पञ्जा, मङ्गलम आदि चलचित्रका गीतमा सङ्गीत दिएका छन् भने हाल उनी ४ वटा चलचित्रको लागि सङ्गीत गरिरहेका छन् l उनका एकल सङ्गीतमा हालसम्म मूल्य, गन्तव्य, उषाका किरण, बेकसुर, सारांश, नूतन-२, उकाली ओराली जस्ता एल्बम सार्वजनिक भएका छन् l
सर्जक-कलाकारले अवार्ड या सामानको अपेक्षा राखेर कर्म गर्ने पक्कै पनि होइन l तर कर्म सिर्जनशील, जनप्रिय र आयामिक भयोभने एकदिन त्यसको मूल्यांकन अवश्य हुन्छ र सम्मान र पुरस्कारले सर्जकलाई आफैं खोज्छ l यसै सन्दर्भमा विभिन्न समयमा दीपकका पनि कर्महरुको मूल्यांकन भएका छन् र उनले पनि विभिन्न क्षेत्रबाट अवार्ड र सम्मानहरु पाएका छन् l जस अनुसार उनले चलचित्र सङ्गीततर्फ ‘डी. सिने अवार्ड-०६९’, ‘उत्कृष्ट युवा सम्मान तथा पुरस्कार-०७१’ {म्याग्दी जेसिस }, पप सङ्गीततर्फ ‘म्युजिक खबर म्युजिक अवार्ड-०७४’, चलचित्र सङ्गीततर्फ ‘रापती म्युजिक अवार्ड-०७४’, चलचित्र सङ्गीततर्फ ‘म्युजिक खबर म्युजिक अवार्ड-०७४’, चलचित्र सङ्गीततर्फ ‘डी. सिने अवार्ड-०७४’ र चलचित्र सङ्गीततर्फ ‘कालिका यामाहा एफ.एम. अवार्ड-०७४’ प्राप्त गरेका छन् भने विश्वकै कान्छो निर्देशकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’ को सङ्गीतकारको नाताले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानपत्र समेत पाएका छन् l विभिन्न सरकारी निकायका लागि चेतनामूलक गीत समेत तयार गरेका दीपकले सङ्गीतका प्रतिस्पर्धाहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन् l १४ बर्षको सङ्घर्ष यात्रा अनि ३२ बर्षे युवा उमेरमै सङ्गीतमा यति ठूलो सफलता हासिल गर्नुलाई सामान्य उपलब्धीको रुपमा मात्र हेर्न पक्कै पनि सकिन्न l उनलाई सङ्गीत क्षेत्रको ‘दीपक’ कै रुपमा मूल्यांकन गर्न सकिन्छ l उनीबाट नेपाली सङ्गीत क्षेत्रले भविष्यमा अझ धेरै अपेक्षा गर्न सक्ने आधारहरु प्रशस्तै छन् l