चन्द्रकला शाह नगद रू. ५१ हजार सहित पुरस्कृत

-तुलसी गिरी ‘भावुक’


विशिष्ट लोकगायिका एवं लोकगीत सङ्कलक चन्द्रकला शाह नगद रू. ५१ हजार र ताम्रपत्र सहित पुरस्कृत भएकी छिन् l मङ्गलबार बिजुलीबजारस्थित कार्निभल रेष्टुरेन्टमा टिका गोपाल डिजिटल एम. क्रियशनद्वारा आयोजित एक समारोहमा गायिका शाह कन्हैया सिंह परियार राष्ट्रिय सङ्गीत पुरस्कार २०७८ बाट पुरस्कृत भएकी हुन् l

विगत साँढे २ दशक अघिदेखि निरन्तर सङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आएका लोकप्रिय गायक / सङ्गीतकार कन्हैया सिंहले आफ्नो ५० औं जन्मदिवसको अवसरमा बुबा आमाको नामबाट स्थापित कम्पनी टिका गोपाल डिजिटल एम. क्रियशन मार्फत विशिष्ट सङ्गीतकर्मी शाहलाई पुरस्कृत गरेका हुन् l कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष गीता सिंहको अध्यक्षता एवं विशिष्ट सङ्गीतकार शम्भुजित बासकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा हरेक बर्ष नेपाली सङ्गीत क्षेत्रका एक विशिष्ट व्यक्तित्वलाई क्रमैसंग पुरस्कृत गरिने कुरा कन्हैया सिंहले जानकारी गराएका छन् l

कार्यक्रममा आफ्ना भनाईहरु राख्दै पुरस्कृत शाहले यसअघि पनि आफूले अन्य पुरस्कार एवं सम्मान प्राप्त गरिसकेको भएपनि विदेशमा पसिना बगाएर कमाएको रकम बचाएर व्यक्तिगत तवरले प्रदान गरिएको भन्दै यो अन्य पुरस्कार भन्दा भिन्न र विशेष भएको धारणा राखेकी थिईन् l

यसैगरी लगभग तीन दशकसम्म करारमा सेवा दिएकी चन्द्रकला शाहलाई रेडियो नेपालले हठात् जागिरबाट निकालेकोमा कार्यक्रमका प्रमुख अतिथि शम्भुजित बासकोटाले असन्तुष्टि व्यक्त गरेका थिए l समारोहमा गायक / सङ्गीतकार भीमार्जुन आचार्य र विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले समेत पुरस्कृत चन्द्रकला शाहको साङ्गीतिक व्यक्तित्व र गायक / सङ्गीतकार कन्हैया सिंहको परोपकारी स्वभावका बारेमा आ-आफ्ना धारणा / अनुभव व्यक्त गरेका थिए l गायक / सङ्गीतकार सिंह केही बर्षदेखि सपरिवार अमेरिका बस्दै आएका छन् l

 लोकप्रिय सञ्चारकर्मी हेम सुवेदीद्वारा सञ्चालित सो कार्यक्रम सङ्गीतकार सन्तोष श्रेष्ठको संयोजन र सञ्चारकर्मी माधवराज खरेलको व्यवस्थापनमा आयोजना भएको थियो l