शक्ति र दम्भको राजनीतिले देश थला परेको छ

-डा. डी. आर. उपाध्याय


शक्ति र दम्भको राजनीतिले देश थला परेको छ । आज शक्ति र दम्भको आडमा जुन किसिमको राजनीति भइरहेको छ यसले मुलुकलाई अघि बढाउन सक्दैन र सकेको पनि छैन । आज जनता महंगीको मारमा छन् तर देशमा सरकार छ की छैन त्यो समेत जनताले अनुभूति गर्न सकिरहेका छै्रनन् । आज बिप्लव समूहले नेपाल बन्दको घोषणा गरेको समाचार छ । जनताले साथ दिन्छन् की दिदैनन् त्यो भने केही समय पछि थाहा हुने छ । माइतीघर मण्डलामा दिनौं नारा जुलुश चलिरहेको छ । हामी कता जान खोजेका हौँ ? देश कता जाँदै छ ? बडो गम्भिर प्रश्न उठेको छ ।

बार र सर्वोच्च बीच चलेको द्वन्द्व अझै सेलाउन सकेको छैन । सबै क्षेत्र अस्त ब्यस्त छ । यहाँ कसैलाई केही मतलव छैन । महंगीले जनता भोकै पर्ने हुन की भन्ने चिन्ता पनि छ । देशमा शोषणको अन्त्य भएको छैन । कसैले कोही माथि शोषण गरिरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मिठा मिठा भाषण गर्न मात्र सिपालु छन् । जनताका समस्या समाधान गर्न कुनै दल तयार छैनन् । सबै दलको आ-आफनो स्वार्थ छ । त्यसैले देश बर्बाद हुँदै छ । कोही पनि नेता देश र जनताप्रति जिम्मेवार छैनन् । आज देशमा जुन किसिमको गाईजात्रा मन्चन भइरहेको छ यो सबै बिदेशीको इसरामा हो । अब नेपाली जनता सचेत र जागरुप हुनुपर्ने बेला आएको छ ।

हामी सबैलाई थाहा छ, नेतृत्वकर्ता ठिक नहुँदा देशमा यो समस्या उत्पन्न भएको हो । आज जे भइरहेको छ, त्यसप्रति जनताको सन्तुष्टि पटक्कै छैन । आज नेताहरु धनी बन्दै गएका छन्, जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । राजनीतिका नाममा यहाँ ब्यापार चलिरहेको छ । यसरी देश बन्न सक्दैन । आज देशमा जुन ढंगले शक्ति र दम्भको राजनीति चलेको छ, त्यो त्यति धेरै टिक्दैन । जनता निराश बन्दै छन् । जव जनता निराश बन्छन् त्यसबेला ब्यवस्थामाथि नै प्रश्न उठन सक्छ । अहिले पछिल्लो समयमा सडकमा बाक्लो उपस्थिती छ । यसले राम्रो संकेत देखाइरहेको छैन ।

अब मुलुकलाई कुशल नेतृत्वको आबश्यकता छ । त्यो नेतृत्व कसले गर्ने ? बिस्तारै समयले जन्माउने छ । नेता बन्न दुरदर्शिता चाहिन्छ । खै मुलुकमा दुरदर्शि नेता ? आज मुलुकमा दुरदर्शि नेता नभएर यी समस्याहरु निम्तिएका हुन् । जनताले तिरेको कर सहि रुपमा सदुपयोग हुन सकेको छैन । देशको ढुकुटीमा मनपरी गरिएको छ । सर्वसाधारणले पाउनुपर्ने सेवा, सुविधा र सहुलियत पाउन सकिराखेका छैनन् । हाम्रो मुलुकमा राम्रासोझा मानिस बाहेक स्वार्थी, अहं भावना भएका र मुर्ख मनुष्यहरु धेरै छन् ।

लोकतन्त्र आएपश्चात् हरसमय कुनै न कुनै कलहले छोडेको छैन । यस प्रकारको कलहले देशलाई अहित गरिरहेको छ । कुर्सीको लागी नेताहरु जे पनि गर्न तयार छन् । अहिले त्यही भइरहेको छ । नेताहरुले आफ्नो मान्छे बाहेक अरुलाई केही सेवा सुविधा दिन सकेका छैनन् । यो स्वार्थीपनले आम नागरिक निराश छन् । जनताले लडेर ल्याएको परिवर्तन र प्राप्त उपलव्धिहरु गुम्न सक्ने खतरा पनि त्यतिकै बढेर गएको छ । कसको कारणले हाम्रो देश पछि परिराखेको छ ? हामी कुन दिशामा गइराखेका छौं ? यी प्रश्न गम्भिर छन् । जब देशको कानुन फितलो हुन्छ यस्ता हर्कतहरु बराबर दोहोरिराखेका हुन्छन् । नेताहरु कुर्सीमा बसेर रमिता हेर्ने काम बाहेक अरु काम के भएको छ ? देशमा भ्रष्टाचार बढेर गएको छ । सबै तमासा हेर्ने बाहेक केही गदैनन् । कठै ! मेरो देश ।