मूल्यवृद्धि फिर्ता गर

-डा. डी. आर. उपाध्याय


नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैया तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन् । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आक्रोश थपिएको छ ।

मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयामा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य १ सय १९ रुपैया हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १ सय १ रुपैयाँ पुर्याइएको छ । निगमले गत कात्तिक १२ गते मात्र तेलमा प्रतिलिटर ३ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरिसकेको थियो । एक महिनामा दुई दुईपटक मूल्य वृद्धि गरेर सरकारले के गर्न खोजेको हो ? यो गाइजात्रे शासनले जनता सन्तुष्ट छैनन् ।

मूल्यवृद्धि फिर्ता गर भन्दै विद्यार्थी संगठनहरु सडकमा छन् । सबै संगठनहरूले संघर्षको घोषणा गरिरहेका छन् । उनीहरुले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए । एकातिर कोभिड महामारीका कारण आम नागरिक आर्थिक रूपमा टाट पल्टिएका छन् । यस्तो अवस्थामा मूल्य वृद्धि गर्नु राम्रो कुरा होइन । त्यसमाथि उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्दा जनता कसरी बाँच्ने ? सरकारले जनताको समस्या किन बुझ्न नसकेको ?

देशले अझैं डरलाग्दो आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ । महामारीले थलिएको देशको आर्थिक अवस्था नाजुक छ । मूल्यवृद्धिले सरकार जनताको पक्षमा काम गर्न असक्षम छ भन्ने पुष्टि गरेको छ । सरकारले यसको समीक्षा बेलैमा गर्न जरुरी छ । बेलैमा मूल्यवद्धि फिर्ता गर्नतिर सरकारको ध्यान जान सकेन भने थप संकट निम्तन सक्ने खतरा पनि छ । आवधिक निर्वाचनमा यसको ठूलो असर पाँच दलीय गठबन्धन दललाई पर्ने देखिने छ । यो कदम सरकार आफैका लागि पनि घातक छ ।

जनता सधै सरकारको अत्याचारलाई टुलुटुलु हेरेर बस्न सक्दैनन् । एकै महिनामा दुईपटक मूल्यवृद्धि गरिनुको कारण सरकारले खुलाउनु पर्छ । मूल्यवृद्धि फिर्ता गरेर सरकारले जनताको मन जित्न सक्नु पर्छ । जनताको समस्या दिन प्रतिदिन बढ्दै छन् । जनताको समस्या समाधान गर्ने कुरामा सरकार गम्भिर छैन । यसरी जनता माथि शोषण गरेर शासन गर्नु राम्रो होइन । जनता समस्यामा परे भने उनीहरु बिद्रोह गर्न बाध्य हुने छन् ।

बिगतको इतिहासबाट पाठ सिकेर सरकार अघि बढ्नु पर्छ । आफनो मनपरी गरेर सरकारले जनतालाई सधै सास्ती दिने काम गर्नु उचित होइन । जनताले तिरेको कर सहि रुपमा सदुपयोग हुनु पर्छ । राजनीति दल र तिनका नेताहरु मोटाउदै जाने जनता दुब्लाउदै जाने जुन किसिमको अबस्था देखिएको छ । यसले राम्रो संकेत गरिरहेको छैन । अब राजनीति दल र तिनका नेतामा सुधार आउन जरुरी छ ।