‘टिकटक रियालिटी शो’ शुभारम्भ, प्रथम हुनेले कार पाउने


लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिभिजन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८ राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बारेमा बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो ।

नेपाली फिल्म क्षेत्रका लोकप्रिय कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती तथा बर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णायक हुन आफूहरु तयार भएको कुरा कलाकारहरुले बताए । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिईने शोका निर्देशक हरि शर्माले पत्रकार सम्मेलनका माझ बताएका छन् ।

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको थियो । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्य द्वारा सम्मानित भएका छन् ।

तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका सांसद श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेका छ । उक्त समारोहका बोल्दै मन्त्री श्रेष्ठले डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८ टेलिभिजन शो निक्कै अर्थपूर्ण रहेको बताए । टिकटकका माध्यमवाट समाजमा नकरात्मक कुराहरु मात्रै बढी प्रवाह भैईरहेको भन्ने खालका तिता टिप्पणीलाई यस आयोजनाले तोड्ने विश्वास रहेको उनले बताए ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाए । नाईस टेलिभिजन एचडीबाट प्रशारणमा आउने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहेका छन् । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडिओ १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मङ्सिर मसान्तसम्म आव्हान गरिएको छ ।