दुई मुक्तक कृति एकैसाथ लोकार्पण

-प्रकाश सुवेदी


कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तकसङ्ग्रह मनको वारपार तथा कवि पूर्णबहादुर श्रेष्ठको मुक्तकसङ्ग्रह पूर्णपात्र को यही कार्तिक ५ गते शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको छ ।

साहित्यको उर्वरभूमि  काभ्रेको पनौतीमा समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा नगरपालिका सभाहलमा एक भव्य समारोहबीच सम्पन उक्त कार्यक्रम आयोजक संस्थाका महासचिव तथा समालोचक डा.लेख प्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त समारोहमा वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजा, साहित्यकार सूर्यप्रसाद लाकोजू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख भीम न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको बिकासको निम्ति नगरपालिका जहिल्यै साथ दिन र सहयोग गर्न तयार रहेको बताए । धेरैले मन पराउने मानिएको विधा मुक्तकको पुस्तक मनको वारपार को वारेमा समालोचक डा.लेखप्रसाद निरौलाले र पूर्णपात्र को बारेमा साहित्यकार सूर्य लाकोजूले टिप्पणी गरेका थिए । मनको वारपारमा १ सय १ वटा समसामयिक राजनीतिक दुरावस्था, प्रेम विछोड, अभाव, अमानवीयता आदि बिषयबस्तु समेटिएका सचित्र मुक्तकहरु समाबेश छन् भने अर्को कृति पूर्णपात्रमा १ सय ११ वटा विभिन्न बिषयबस्तु केन्द्रित मुक्तकहरु समाबेश गरिएका छन् ।

कवि नरेन्द्रकुमार नगरकोटीले सञ्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने लोकार्पित कृतिका श्रष्टाहरुले आ-आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली श्रष्टाको मुक्तक सङ्ग्रह थपिएकोमा खुशी व्यक्त गरेका थिए । अर्का वक्ता पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गरे । लोकार्पण कार्यक्रममा थुप्रै कवि, साहित्यकारहरुको जमघट रहेको थियो ।