शुभकामना आदानप्रदान एवं प्रसाद ग्रहण कार्यक्रम सम्पन्न ।


नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले आज एक विज्ञप्ति प्रकाशित गरी हिजो अर्थात् कात्तिक २ गते नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा यस बर्षको शुभकामना आदानप्रदान, नवदुर्गा भवानी प्रसाद ग्रहण तथा चियापान कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको कुरा जानकारी गराएका छन् । सङ्घले २०७६ सालदेखि हरेक बर्ष नेपालीहरूको महान चाड बडादसैंमा बडादसैं, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान, नवदुर्गा भवानी प्रसाद ग्रहण तथा चियापान कार्यक्रमकोआयोजना गर्दै आईरहेको छ।

सङ्घले एकआपसमा आत्मियताका साथ आफन्तको अनुभूति गराउने र कलाकारहरुबीच एक अर्काप्रति  सदभाव, सदाचार एवं भाइचारा बढाउन यस प्रकारको कार्यक्रमको थालनी गरिएको कुरा जानकारी गराएको छ । सङ्घका अध्यक्ष रविन्द्र खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले स्वागत भाषण र कोषाध्यक्ष सुनिल कटवालले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा सङ्घका सल्लाहकार कृष्ण मल्ल, विशिष्ट चलचित्रकर्मी पुरन जोशी, नेपालकै पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र सङ्घका उपमहासचिव गोपालकाजी कायस्थ, जनजाति चलचित्रकर्मी महासङ्घका अध्यक्ष अमृत सुनुवार, नेपाल चलचित्र सङ्घका अध्यक्ष मदुसूदन प्रधान, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, विशिष्ट चलचित्रकर्मी लय सङ्ग्रौला, प्रथम नेपाल भाषाको चलचित्र सिलुका नायक जय श्रेष्ठ, सङ्घका जेष्ठ सदस्य पदम प्रसाद पौडेल, सङ्घका जेष्ठ सदस्य लक्ष्मण बिक्रम बस्नेत, जेष्ठ सदस्य वसन्त खत्री, विशिष्ट कलाकार आर. पी. पन्त, नेपाली चुल्होका प्रबन्ध निर्देशक दुर्लभ कार्की, पशुपति बिकाश कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, नेपाल साँस्कृतिक सङ्घका अध्यक्ष तीर्थ थापा, साँस्कृतिक सङ्घका महासचिव शिबशंकर ,FAAN USA का प्रस्तावित अध्यक्ष बिक्रान्त बस्नेत, कामनपा बडा नं २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले आफ्ना कुराहरु राख्दै यस प्रकारको आयोजनाले आपसी सम्वन्ध सुदृढ हुनुका साथै वर्तमान अवस्थामा चलचित्र क्षेत्र चलायमान बनाउन समेत मद्दत मिल्ने विचार व्यक्त गरेका थिए ।

सबै वक्ताहरूले कोभिडले थला पारेको चलचित्र क्षेत्रलाई आ-आफ्नो तर्फबाट माथि उठाउन प्रयास गर्नुपर्ने कुरामा जोड़ दिएका थिए । समारोहमा नेपाल चलचित्र कलाकार सङ्घका जेष्ठ सदस्य पदम प्रसाद पौडेलबाट चलचित्रकर्मीहरूले दुर्गा भवानीको प्रसाद र अक्षता ग्रहण गरेका थिए । दुर्गा भवानीको प्रसाद अक्षता ग्रहण अवधीभर सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले चण्डीका मन्त्र र स्तोत्र पाठ गरेका थिए ।

कार्यक्रम सङ्घका कार्यकारी सदस्य गोपाल ढकाल छन्देले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रसाद, अक्षता ग्रहणसँगै चलचित्र जाँच समितिका सदस्य तथा सङ्घका कार्यसमिति सदस्य राजेश महर्जनले प्रतिव्यक्ति तेत्तिस रूपैयाका दरले दक्षिणा पनि प्रदान गरेका थिए । कार्यक्रमको व्यवस्थापन सङ्घका उपाध्यक्ष सानु कुमार ताम्राकार, कार्यकारिणी सदस्यहरू जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी र राजेश महर्जनले गरेका थिए । प्राय: चलचित्रकर्मीहरूले आफूले पाएको दक्षिणामा रकम थप गरी सङ्घलाई सहयोग स्वरूप उक्त रकम हस्तान्तरण गरेका थिए । जस अनुसार सुनिल कटुवालले रू. ५,१३३/-, जीवन थापाले रू.५,०००/-, समिर लामाले रू. ३,३३३/-, गोपाल ढकाल ( छन्दे ) ले रू. ३,०००/-, नवराज दुरा बैध्यले रू. २,१००/-, गीता अधिकारीले रू. २,०००/-, रोशनराज मिश्रले रू. १,५४०/-, भिमा मैनालीले रू. १,१००/-, प्रतिक्षा खड्काले रू. १,०५०/-, हरिचन्द्र फुयाँलले रू. १,०००/-, कमल खड्काले रू. १,०००/-, बद्री पुडासैनीले रू. ५३५/-, वसन्त बहादुर खत्रीले रू. ५३३/-, टेकेन्द्र न्यौपानेले रू. ५०५/-, रिया श्रेष्ठले रू. ५०१/-, सालीग्राम कार्कीले रू. २५५/-, र पवित्रा पाण्डेले रू. २१०/- सङ्घलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सङ्घका अध्यक्ष रविन्द्र खड्काले आफ्नो मन्तव्य राख्दै सहभागी सम्पूर्ण चलचित्रकर्मीहरूलाई धन्यवाद दिनुका साथै यसप्रकारका आयोजनाले वर्तमान स्थितिमा चलचित्र क्षेत्र चलायमान बनाउन एकताको सन्देश प्रबाह हुनेकुरा बताएका थिए । कार्यक्रममा नयाँ र पुराना पुस्ताका गरी दुईसय भन्दा बढी चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो ।