गीतमा साहित्य हराउँदै गयो, सरलता छायो

चन्द्र गिरी, पि. एच. डी.
नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका

गीत रचनामा साहित्य हुन्छ, गहिरो भाव अर्थात् अर्थ लुकेको हुन्छ । बिगत केही बर्षदेखि गीतहरु सरल र बोलीचालिका भाषाहरुमा लेखिन थालिएका छन् । सङ्गीत, स्वर, भिडिओ आदिको कुरा नगरी शब्द रचनाको मात्र कुरा गर्ने हो भने सरल गीतहरु ज्यादा कर्णप्रिय र जनप्रिय बनिरहेका छन् । आखिर यो बदलाब किन भईरहेको छ त ? यो प्रश्न आफैंमा एउटा रोचक अनुसन्धानको बिषय हो । समाज बदलिएसँगै मानिसको जीवनशैली र रुची बदलिए झैं स्वभाविकै रुपमा गीतहरु पनि बदलिँदै जान्छन् । नेपाली गीत सङ्गीत पनि बिगतका ४-५ दशकमा धेरै बदलिएका छन् ।

कसैले भन्छन् गीतहरु झन् झन् राम्रा भईरहेका छन् l अनि कतिले भन्छन् गीत रचनामा गहिराईको कमी हुन् थालेको छ । यो विवाद र मतान्तर जे जस्तो भएपनि साधारणत: गीतहरुको स्तर बढेको छ । हिजो धेरैजसो हिन्दी गीत सुन्ने हामी नेपालीहरु आज प्राय: नेपाली गीतहरु नै सुन्न थालेको छौं । सरल गीतहरु बढी जनप्रिय हुनुका कारणहरुबारे अनुसन्धात्मक तवरमा नभई सतही रुपमा हेर्दा मुख्यतया रचनाकार धेरै हुनु, धेरै गीतहरु बन्नु, गीत सुन्ने अवसर मिल्नु र उस्तै उस्तै गीतहरु बन्नु हुन् सक्छन् । यी बाहेक प्रविधिको बिकास, आफ्नो रुचि अनुसार श्रोताहरुको बिभाजन र व्यक्तिगत मनोविज्ञान आदिले पनि महत्वपूर्ण भूमिका खेल्दछन् ।

रचनाकार धेरै: हिजो केही जाने सुनेका साहित्यकार र सङ्गीतकर्मीहरुले मात्र गीत लेख्दथे भने आज जो कोहीले गीत लेखिरहेका छन् । नेपालमा मात्र हैन बिदेशमा बस्ने गीतकारको संख्या पनि उल्लेख्यनीय रुपमा बढेको छ, अनि यो बढ्दो क्रम जारी छ । यसरी गीतकारको संख्या व्हात्तै बढ्दा गीतमा प्रखर भावना भएपनि शिक्षा, तालिम  र अभ्यासको कमीले शब्दहरु सरल हुने नै भए ।

गीतहरु धेरै: नेपाली गीतहरुको संख्या आज द्रुत गतिले बढिरहेको छ । श्रोताहरुले आफूलाई मनपर्ने गीत छान्न सक्छन् । म जस्तै धेरै श्रोताहरुको मनोविज्ञानलाई केलाउने हो भने धेरै गीतहरु मध्ये छान्नुपर्दा सरल गीत नै छानिदो रहेछ । सरल गीत सुन्दा दिमाग धेरै खियाउनु पनि परेन । सजिलैसँग बुझ्न र सम्झन सकिने गीतहरु बढी मन पराइन थालिएका छन् ।

सुन्ने ठाउँ धेरै: हिजो रेडियो नेपालबाट सीमित रुपमा मात्र गीतहरु सुनिन्थ्यो भने आज बिभिन्न सामाजिक सञ्जाल र प्ल्याटफर्महरु मार्फत आफूले चाहेको समयमा चाहे जस्तो गीत सुन्न पाइने भएको छ । माथि भनिए जस्तै यसरी रोज्न पाउँदा सरल गीतहरु रोजिने रहेछ ।

गीत उस्तै उस्तै: यु ट्युबमा सबै भन्दा धेरै हेरिएका नेपाली गीतहरुलाई विश्लेषण गर्ने हो भने ती गीतहरु प्राय: उस्तै उस्तै अथवा एकै थरिका छन् । अझ स्पष्ट भन्नुपर्दा सङ्गीतमा नेपाली लोक पनको सम्मिश्रण भएका र नेपाली जनजीवनसँग सम्बन्धित ठेट शब्दहरुको प्रयोग भएका गीतहरु नै बढी रुचाईएका छन् l ती उस्तै उस्तै गीतहरु सुन्दा सुन्दा श्रोतहरुको रुचि पनि त्यतैतिर ढल्किरहेको आभास हुन्छ । यी माथि उल्लेखित कारणहरु बाहेक प्रविधिको बिकास, आफ्नो रुचि अनुसार श्रोताहरुको बिभाजन र व्यक्तिगत मनोविज्ञान आदिले पनि यो प्रक्रियालाई असर परेको छ । केही सामाजिक शास्त्रका विज्ञहरु यो क्रम देखेर गीत सङ्गीतको भविष्यप्रति उदास र निराशावादी पनि बनेका छन् । नेपालमा मात्र नभई विश्वव्यापी प्रचलन हेर्दा भविष्यमा अझ बढी गीतहरु बन्नेछन् र ती मध्ये धेरैजसो सरल गीतहरु नै बढी जनप्रिय हुनेछन् भन्ने अनुमान गर्न सकिन्छ ।