सीतामैयाको सितार धुन Naughty Mind अब भिडिओमा

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सितारवादिका सीतामैया राजचलले Naughty Mind शीर्षकको सितार धुनलाई भिडिओमा सार्वजनिक गरेकी छिन् l केहीदिन अघि राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा लोकप्रिय सिने कलाकार राजेश हमालको हातबाट सो भिडिओ औपचारिक रुपमा लोकार्पण गरिएको हो l

जुगल डंगोलको सङ्गीत रहेको सो सितार धुनको भिडिओ निर्णय NSK को निर्देशनमा निर्माण भएको हो भने भिडिओमा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ, सङ्गम शाक्य, रुवी खरेल, राजकुमार खड्गी, ईन्द्र लक्षीमस्यु  लगायत बाल कलाकारहरु अंशु महर्जन, दिपिका शाक्य, रोशनी शाक्य, शुभेक्षा तुलाधर र सर्वेश सुवालको अभिनय रहेको छ l भवानी शिलाकारको सिनेम्याटोग्राफी रहेको सो भिडिओ प्रवीन श्रेष्ठले सम्पादन गरेका हुन् l

सितारवादिका सितामैयाले हालसम्म प्रसिद्ध सङ्गीतकार तथा सङ्गीत संयोजक जुगल डंगोलको एकल सङ्गीतमा सितार धुनका एल्बम The Tradition { 2004 }, Talking Strings { 2012 } र Journey of Frets { 2018 } प्रकाशन गरिसकेकी छिन् भने Naughty Mind २०१८ मा प्रकाशित एल्बम Journey of Frets मा समावेश रहेको एक धुन हो l सीतामैया वर्ल्ड बुक अफ रेकर्ड, लण्डन द्वारा विश्वमै उभिएर सितार बजाउने पहिलो महिलाको रुपमा समेत सूचिकृत भईसकेकी छिन् l

SUBSCRIBE 👉

भिडिओ लोकार्पण कार्यक्रममा विशिष्ट सितारवादक एवं सीतामैयाका गुरु प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीले सितार बाजाको इतिहास र सीतामैयाको बारेमा प्रकाश पारेका थिए l आफ्ना भनाईहरु राख्दै सीतामैयाले पनि गुरु ध्रुवेशचन्द्रले खुला हृदयले नसिकाएको भए आफू आज यो स्थितिसम्म आईनपुग्ने कुरा बताएकी थिईन् l यसैगरी समारोहमा भिडिओका कलाकार सङ्गम शाक्यले पहिलोपटक अभिनय गर्दाका आफ्ना अनुभवहरु सार्वजनिक गर्दै भने – ‘जति सजिलो सोचिन्छ त्यति सजिलो नहुने रैछ l’

वर्ल्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल, समता स्कूलका प्रिन्सिपल अजय अधिकारी आदि विशिष्ठ अतिथिहरुको उपस्थितिमा सम्पन्न सो समारोहमा विशिष्ट सङ्गीतज्ञ धन बहादुर गोपाली, राष्ट्रिय नाचघरका महाप्रवन्धक अशोकप्यासी राई, पूर्व महाप्रवन्धक राजेश थापा, विमोचित सितार धुनका सङ्गीतकार जुगल डंगोल, नाचघरकै नाट्यविभाग प्रमुख प्रभाकरदेव शर्मा लगायतका विशिष्ट व्यक्तिकरुको उपस्थिति रहेको थियो l