‘चलचित्र कलाकार सङ्घ’को १८ औं साधारण सभा सम्पन्न

-तुलसी गिरी ‘भावुक’


समग्र चलचित्रकर्मीहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा सम्पन्न भएको छ l साधारण सभा पुतलीसडकस्थित ‘स्काई दरबार ब्याङ्केट’मा आज दिउँसो सम्पन्न भएको हो l समारोहमा सङ्घका उपाध्यक्ष एवं प्रवक्ता तथा वरिष्ठ चलचित्र लेखक / निर्देशक मोहन निरौलाले कोभिडका कारण पूर्व समयमा घोषणा भएर पनि साधारण सभाको आयोजना गर्न नसकिएको कुरा जानकारी गराएका थिए l उद्घाटन सत्रको कार्यक्रम सङ्घका अध्यक्ष रविन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो l

समारोहमा स्वत: स्फूर्त रुपमा ‘त्रिदेवी’ को नामले सम्मानित विशिष्ट महिला चलचित्र कलाकार वसुन्धरा भुसाल, भूवन चन्द र चैत्यदेवीका साथै प्रथम महिला टेम्पो चालक लक्ष्मी शर्मा, चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ-संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु, चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ट चलचित्रकर्मीहरु मदनदास श्रेष्ठ, कृष्ण मल्ल, रवि गिरी, लय सङ्ग्रौला एवं सङ्घका पदाधिकारीहरु लगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो l

कार्यक्रममा सङ्घका अध्यक्ष एवं समारोहका सभापति रविन्द्र खड्काले आफ्ना भनाईहरु राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए भने चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले यही दशैँअघि नै नेपालभरका सिनेमाघरहरु खुल्ने कुरा बताउँदै बोर्डले गरेका अन्य महत्वपूर्ण कामहरुको बारेका जानकारी गराएका थिए l उनले भने –’मरणोपरान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरुको लागि स्वास्थ्य बिमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुसँगको समन्वयमा आयोजित कार्यशालाहरुमा सहभागी गराउने, क्षेत्रीयस्तरमा चलचित्र महोत्सवहरुको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त – दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरुको पहल भईरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा रहेको समेत जानकारी गराएका छन् l’

समारोहमा बसुन्धरा भुसालले सङ्घले आयोजना गरेका कार्यक्रम एवं चलचित्रकर्मीहरुको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कल्कर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरेकी थिईन् l यसैगरी अर्का कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरु अनुपस्थित रहेकोप्रति आक्रोश पोखेका थिए l उनले भने –’आफूलाई समस्या पर्दा सङ्घ चाहिने तर यत्रो अधिवेशनमा नआउने ? उनीहरु यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई सङ्घले पनि किन वास्ता गर्ने ? आचार संहिता बनाउनुपर्यो l’ समारोहमा कृष्ण मल्लले पनि आफ्ना कुरा राख्दै मनगढन्ते उपाधि लिने र दिनेहरुप्रति असन्तुष्टि व्यक्त गरेका थिए l मल्लले अगाडि भने –’हामी इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेका छौं l तर हामी महानायक र महानायिकाको आत्मरतिमा रमाईरहेका छौं l यदि तपाईंहरु महान हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न l तपाईंहरु महान होईन, दर्शक महान हुन् l’ समारोहमा लय सङ्ग्रौला, कृष्ण मल्ल लगायतका वक्ताहरुले सङ्घको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरुको खुलेर प्रशंसा गरेका थिए l कार्यक्रम सङ्घका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले सञ्चालन गरेका थिए l

SUBSCRIBE 👉