‘परिवर्तन नेपाल’को कलाकार टोली राजधानी फर्कियो ।


कोभिडको प्रकोप न्युन भएसँगै बारा र पर्सामा नाटक मञ्चन र वृत्तचित्र  छायङ्कनका लागि परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा भाद्र ३० गते काठमाण्डौबाट गएको टोली आश्विन ४ गते काठमाण्डौ फर्किएको छ । पशु कल्याणका लागि सार्थक अभियान को नारा लिएर गएको उक्त कार्यक्रमलाई एनिमल नेपालको सहयोग रहेको बुझिएको छ । टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे, प्रल्हाद खरेल, राधा श्रेष्ठ, जे बी डिसी, शान्ता भट्टराई, जगत थामी र गम्भीर श्रेष्ठ रहेका थिए ।

एनिमल नेपालको बारा स्थित कार्यालयका शत्रुघन पटेल र सिताराम पटेल पनि उक्त अभियानमा सहभागी हुनुहुन्थ्यो । टोलीले स्थानीय सञ्चारकर्मी एवं बासिन्दाहरुसँग पशु कल्याणका सम्बन्धमा अन्तरक्रिया गरेको टोलीका सदस्य विश्वदीप घिमिरेले बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमसँग हेटौंडामा टोलीले अन्तक्रिया गरेको कुरा पनि घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार टोलीले पशु कल्याण सुनिश्चित गरौँ भन्ने नाटक गढीमाई, बरियारपुर, बगडमपुर, देबकोटा चौक, सिसहनीया, पर्वानीपुर, दुर्मनवाना, टेडा, घण्टाघर वीरगन्ज गरी १० स्थानमा मञ्चन गरेको थियो ।

पशु कल्याणका लागि गरिएको यो सचेतना कार्यक्रमलाई एनिमल नेपालबाट सुलक्षणा राणाले नेतृत्व गर्नु भएको छ । यसअघि यही टोलीले काठमाण्डौ र चितवनका बिभिन्न स्थानमा पशु कल्याण सम्बन्धी नाटक मञ्चन गरिसकेको छ ।