‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ का उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण

तुलसी गिरी ‘भावुक’


‘क्वालिटी फिल्म्स’को आयोजनामा सम्पन्न हुन गईरहेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ का उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल गीत-सङ्गीत क्षेत्रका सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l यही भदौ २५ गते बिजुलीबजारस्थित कार्निभल रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो l

अवार्ड प्रतिस्पर्धाका लागि २०७६ बैशाख १ गतेदेखि २०७८ असार मसान्तसम्ममा प्रकाशित गीत-सङ्गीतका सर्जक, कलाकार र प्राविधिकहरुले फारम भरेका थिए l प्रतिस्पर्धामा आधुनिक, गजल, पप, लोकपप, चलचित्र, लोक, लोकदोहोरी, राष्ट्रिय, भाषाभाषी, पर्व र भेगीय गीत तथा तीनमा आवद्ध सर्जक, कलाकार र प्राविधिकहरुले विभिन्न विधामा प्रतिस्पर्धा हुने भएको छ भने आयोजक संस्थाका निर्देशक तथा अवार्ड समितिका अध्यक्ष उमेश गुरुङका अनुसार भोटिङ र जुरीको मूल्याङ्कनको आधारमा बिजेताको छनोट गरिने छ l

गुरुङका अनुसार प्रतिस्पर्धात्मक विधा बाहेक अवार्ड समारोहमा सङ्गीत पत्रकारिता पुरस्कार, राष्ट्रिय नारी सम्मान, सामाजिक सेवा सम्मान र क्वालिटी फिल्म्स सम्मान समेत प्रदान गरिने छ l वरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरेलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ र रङ्ग पत्रकार तुलसी गिरी ‘भावुक’ लाई ‘रङ्ग पत्रकारिता पुरस्कार’ प्रदान गरिने कुरा सार्वजनिक भईसकेको छ l आगामी असोजमा अवार्ड समारोहको आयोजना हुने कुरा समेत निर्देशक गुरुङले जानकारी गराए l