गीतकार विश्वबल्लभ नगद १ लाख ५१ हजार सहित सम्मानित हुने

-तुलसी गिरी ‘भावुक’


गीतकार सङ्घ नेपालले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्नो स्थापना दिवसको अवसरमा { जेठ १४ गते } हरेक बर्ष आयोजना गर्दै आईरहेको राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रम यो बर्ष आगामी असोज महिनामा आयोजना हुने कुरा जानकारी गराएको छ l कोभिडले गर्दा उत्पन्न असहज परिस्थितिका कारण सो बार्षिक कार्यक्रम केही ढिला आयोजना हुन लागेको कुरा समेत सङ्घको विज्ञप्तिमा उल्लेख गरिएको छ l

सङ्घका अध्यक्ष शुभ मुकारुङद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार समारोहमा विशिष्ठ गीतकार विश्वबल्लभ नगद रू. १ लाख ५१ हजार र ताम्रपत्र सहितको नवौं अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०७७ बाट सम्मानित हुनेछन् भने विदेशमा बसेर नेपाली गीत लेखनमा उल्लेख्य योगदान पुर्याएबापत अमेरिकामा बसोबास गर्ने गीतकार हरि उप्रेतीलाई नगद रू. १५ हजार र प्रमाणपत्र सहित डायस्पोरा गीतकार सम्मान २०७७ बाट सम्मानित गरिने छ l यसैगरी यसै बर्षबाट सुरु गरिएको विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान बाट लम्जुङका गीतकार कृष्ण बहादुर गुरुङ नगद रू. २५ हजार ५ सय ५२ र प्रमाणपत्र सहित सम्मानित हुने भएका छन् l

प्रतिस्पर्धाको आधारमा हरेक बर्ष प्रदान गरिंदै आएको बर्षगीत पुरस्कारको अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका उत्कृष्ट १० गीत र गीरकारहरुको नाम पनि विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ l जस अनुसार चुँडी जाने { राजु थापा }, आफैँ हिँड्ने { रमेश दहाल }, सोच्दैछु { सुरेश वाग्ले }, तस्बीर { रविन्द्र आशिष ‘शैली’ }, तिमीलाई { ध्रुव प्रसाद अम्गाई }, गन्जी मैलो { रमेश अधिकारी }, यही देशमा { एच. के. धिताल }, यो कस्तो कहर { प्रवल विष्ट }, बाँचुन्जेल हाँसो { बी. बी. थापा } र एकान्तमा { अगम विकराल } छानिएका छन् l सर्वोत्कृष्टताकै आधारमा प्रदान गरिने बर्ष पुस्तक पुरस्कारका लागि भने गणेश श्रेष्ठ ‘अपेक्षा’ को मनको आकाश, घन बहादुर थापा मगरको फूलको मुश्कान र जे. बी. थुलुङको नथाक्ने मान्छे नामक गीतिपुस्तक छनोट भएका छन् l बर्षगीत पुरस्कारबर्षगीत पुस्तक पुरस्कार बिजेताको घोषणा भने कार्यक्रमस्थलमै गर्ने प्रचलन रहँदै आएको छ l दुबै विधाका पुरस्कारको राशी जनही नगद रू. ५७ हजार रहेको छ l