बाहरूको सम्मान र समर्पणमा सिडी विजयले गाए बस्ताकोटीको ‘बा मेरा बा’


बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी ‘बा मेरा बा’ गीत भ्वाइस अफ नेपाल प्रथम संस्करणका विजेता सिडी विजय अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ । डा. ऋषि बस्ताकोटीको रचना, खेम विश्वकर्माको सङ्गीत र पुस्कर सुनुवारको सङ्गीत संयोजनमा तयार पारिएको उक्त गीतलाई द टच क्रियसन ले युट्युव मार्फत सार्वजनिक गरेको हो । गीतको लिरिकल भिडियोको सम्पादन मोहन सुनुवार (नवीन) ले गरेका हुन् ।

SUBSCRIBE 👉

गीतमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनको लागि बुवाहरूले गरेको दु:ख कस्टलाई सरल तरिकाले प्रस्तुत गरिएको छ । सन्तानका सुन्दर भविष्यका लागि आफूले धेरै कुराहरू गुमाएर पनि आफ्ना सुबिधालाई भन्दा सन्तानका प्रगतिमा खुसी हुने, सन्तानलाई सदा सदा असल र सरल बन्न प्रेरित गरिरहने संसारभरका बाहरूलाई यो गीत समर्पण गरिएको छ । आफूले थ्रुप्रै सदावहार गीतहरू गाएको तर बाप्रति समर्पित गीत भने आज पहिलो पटक गाउने सौभाग्य मिलेको बताउँदै  गायक सिडी विजय अधिकारीले यो गीत गाउँदा आफू निकै भाबुक बनेको बताए । यो गीत गाइरहँदा आफूलाई बुवासँग विताएका क्षणहरू याद आइरहेको, उहाँले आफूलाई गरेको आगाध प्रेम, आफ्ना लागि उहाँले गरेको सङ्घर्ष सबै सबै ताजा भएको र यो गीतले संसारभरका बुवाहरूप्रति सम्मान प्रकट गरेको भन्दै यो गीत सुनेपछि पक्कै पनि आफ्ना बाका आँखा पनि हर्षका आँसुले भरिने छन् भन्दै उनी भावुक भए । यो गीत एक उच्चकोटीको सदावहार गीत बनेको उनले दावी गरे ।

गीतकार डा. बस्ताकोटीले आफ्ना यस अघिका धेरैजसो गीतहरू देखेसुनेका कथाको आधारमा या कल्पनामा लेखिएका भएपनि बा मेरा बा गीत भने आफ्ना दिवंगत पिताजीको सरल जीवन, सङ्घर्ष र सन्तानप्रतिको समर्पणलाई अन्तरहृदयबाट अनुभूत गरी संसारका सम्पूर्ण जिम्मेवार पिताजीहरूको सम्मान र समर्पणमा तयार पारेको बताउँछन् । उनी अगाडि भन्छन्- ‘बाहरु साँच्चै नै मैनबत्ती जस्ता हुन् l यो गीत सम्पूर्ण सन्ततिहरूका तर्फबाट आफ्नो जीवन जलाउँदै आफ्ना सन्तानलाई अन्तिम क्षणसम्म उज्यालो दिईरहने सबै पिताज्यूहरूका लागि सम्मान हो l  नेपाली परम्परा अनुसार बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको यो गीतले सम्पूर्ण सन्तानलाई आफ्ना पिताप्रति थप अनुग्रहित बनाउने छ ।’

सङ्गीतकार खेम विश्वकर्मा आमाका नाममा थुप्रै गीतहरू लेखिएका र गाइएका भएपनि बाका नाममा भने खासै धेरै गीत नबनेको सन्दर्भमा बाको महिमा र चर्चा समेटिएको ऐतिहासिक गीतमा चर्चित गायक अधिकारी र सिद्धहस्त गीतकार बस्ताकोटीसंग सहकार्य गर्न पाउनु आफ्नो लागि निक्कै खुशीको कुरा भएको बताउँछन् । उनी अगाडि थप्छन्- ‘गीतका शब्दहरू सुन्दै जाँदा यो गीत गीतकारले हुबहु मेरो आफ्नै बाको कथा थाहा पाएर लेखिदिए जस्तो लाग्यो l  सायद यो गीत जसले सुन्छ यसमा उसले उसैको बाको कथा भेट्टाउँछ ।’ धेरै खालका शव्दहरुमा सङ्गीत भरेको अनुभव संगालेका विश्वकर्माले यो शव्दलाई भने झन्डै आधा दर्जन प्रकारका सङ्गीत भरेको र अन्तत: सबैले सजिलै गुन्गुनाउन सक्ने सङ्गीतलाई छनोट गरी रेकर्डिङ् गरिएको बताउँछन् । उनी अगाडि थप्छन् – ‘हुन त आफूले गरेका सबै गीत आफ्नै हुन् l  तर कथा पनि आफ्नो लागेपछि दिलैदेखि नै मेहनत बढ्दो रहेछ । यो कुरा सङ्गीत संयोजक पुस्कर सुनुवार र गायक सिडी विजय अधिकारीको मेहनतले पनि देखाएको छ । आफूले जुन भावका साथ सङ्गीत गरेको हो त्यसलाई दुरुस्तसँग पक्रेर उस्तै भावका साथ अधिकारीले आफ्नो स्वर दिएकोमा सङ्गीतकार विश्वकर्मा निक्कै खुशी हुँदै तमाम श्रोता-दर्शक एवं सङ्गीत पारखीहरुलाई गीत सुनेर/हेरेर स्वस्थ प्रतिक्रिया दिन अनुरोध गर्छन् ।

यो गीतको एरेन्ज गर्न थालेको १ वर्षपछि रेकर्डिङ् भयो । व्यस्त सङ्गीत संयोजक पुस्कर सुनुवार त्यसमा दुखी देखिँदैनन् । बरु जतिचोटी दाजु-भाइ (खेम-पुस्कर) भेट भयो त्यतिचोटी यो फाइल खोलेर सुनिहाल्ने र केही न केही परिमार्जन गरिहाल्ने काम करिव एक वर्ष चल्यो र अन्ततोगत्वा सानदार गीत बाहिर ल्याइयो भन्ने बुझाइ उनको छ ।

SUBSCRIBE 👉