चेतन कार्कीको नाममा प्रतिष्ठानको स्थापना


विशिष्ट  गीतकार, कवि तथा चलचित्रकर्मी स्व.चेतन कार्कीको नाममा २०७८ भदौ १४ गते चेतन कार्की प्रतिष्ठान को  स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा विशिष्ट चलचित्रकर्मी एवं लेखक अभिनेता मोहन निरौला, महासचिवमा कवि मुरारि सिग्देल, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारश कार्की र पंकज कार्की रहनुभएको छ भने तदर्थ समितिका सदस्यहरुमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र कवि दिब्य गिरी रहनुभएको छ ।

विक्रम संवत् १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिनुभएका चेतन कार्कीको नेपाली कला,साहित्य,गीत सङ्गीत तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । चेतन कार्कीले निर्देशन गर्नुभएको पहिलो चलचित्र विश्वास हो l त्यसपछि उहाँले मनका आँखा, भूमरी  पहिलो प्रेमको निर्देशन गर्नुभएको थियो  । उहाँले तत्कालीन प्रचार प्रसार विभागबाट वि सं २०२५ सालमा निर्माण भएको चलचित्र परिवर्तनमा स्कृप्ट लेखेर चलचित्रको यात्रा प्रारम्भ गर्नुभएको थियो ।

चेतन कार्कीले परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यासहरु तथा कल्पना टूट चुकी है (कविता–हिन्दी/उर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीतिसङ्ग्रह ), माया प्रीतिको चोखो कथा (गीतसङ्ग्रह), हत्केलालले सधैंभरि सूर्य छेकिँदैन (मुक्तकसङ्ग्रह ), हो देश मेरो पनि (गजलसङ्ग्रह ), बसि बियाँलो (कथासङ्ग्रह ), दिल जीगर के टुकडे (उर्दू बयाज) आदि जस्ता साहित्यिक कृतिहरु पनि रचना गर्नुभएको छ ।

विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गर्नुभएका स्व. कार्कीले  रचना गर्नुभएका दर्जनौं गीतहरु अत्यधिक लोकप्रिय छन् । ती मध्ये तीजको रहर आयो बरी लै…सर्वाधिक लोकप्रिय गीत रहेको छ । चेतनले माया प्रीति, कान्छी, कन्यादान सहित थुप्रै फिल्महरुका लागि गीत रचना गर्नुभएको छ । नातिकाजीको सङ्गीत, तारादेवी र भूवन थापाको स्वरको बोलाउँ भने लेख स्वर पुग्दैन… चेतन कार्कीद्वारा रचना गरिएको पहिलो नेपाली गीत हो । यस्तै शाह वंशको इतिहास, शिक्षाको उज्यालो, मेरो सपना, पृथ्वीनारायण शाह, बुढो चौतारी, मेरो कर्तव्य  के ? लगायत दर्जनौं नाटकहरु पनि कार्कीले लेख्नु भएको छ ।

चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उद्देश्य सहित प्रतिष्ठानको स्थापना गरिएको कुरा थाहा भएको छ । स्व. कार्कीले नेपाली संस्कृति, कला र साहित्य तथा चलचित्र क्षेत्रमा पुर्याउनुभएको समग्र योगदानको प्रचार प्रसार गर्दै उच्च कदर गर्ने प्रतिष्ठानले जनाएको छ ।