अब कृषिक्रान्तिमा जोड गरौँ

डा. डीआर उपाध्याय


हाम्रो देश नेपाल विश्व मानचित्रमा कृषिप्रधान देश भनेर चिनिन्छ । तर हामी अझैसम्म कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । जबसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ तबसम्म देश समृद्धितर्फ जान सक्दैन । यो युग प्रविधिको युग हो । अन्य विकसित देशमा कृषिमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । तर हाम्रो देशमा अहिलेसम्म पनि परम्परागत रुपमा नै किसानहरु कृषि पेसा गर्न बाध्य छन् । यो हाम्रो देशको बाध्यता हो । युवा जनशक्तिको अभावमा धेरै खेतीयोग्य जमिन बाँझा छन् । युवाहरु रोजगारीको अवसर नपाएर विभिन्न देशमा आफ्नो श्रम बेच्न विवश छन् । राज्यले युवावर्गलाई कृषि सम्वन्धि तालिम र कृषिमा आधुनिक उपकरण उपलब्ध गराउँन सकेको खण्डमा खेतीयोग्य जमिन बाँझा रहने थिएनन् । जसले गर्दा अरु देशको उत्पादनमा परनिर्भर हुनु पर्ने अवस्था आउने थिएन ।

अब राज्यले ढिला नगरी युवा लक्षित कृषि कार्यक्रम ल्याउनुपर्छ । जसले युवावर्गलाई आर्कषित गर्न सकोस् । जस्तै कृषिमा पशुपालन, माहुरीपालन, माछापालन, बंगुर पालन आदि । किसानहरुलाई खेतीपाती गर्दा समयमा बिउ, मल, प्रविधि युक्त मेसिनहरु राज्यले उपलब्ध गराउन सकेको खण्डमा कृषि क्षेत्रले फड्को मार्ने थियो । विश्वका धेरै देशले कृषि क्षेत्रबाट समृद्धि हासिल गरेको देखिन्छ । तर हामी हाम्रो देशको उर्वर भूमि हुँदाहुँदै पनि कृषिमा आत्म निर्भर बन्न सकेनौँ यो नै चिन्ताको विषय हो ।

पछिल्लो समयमा आएर खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएका छन् । यसले तत्काल नभएपनि पछि समस्या निम्ताउने निश्चित छ । जग्गा जमिनहरुको मुल्य पनि ठाउँ ठाउँमा हचुवाका भरमा बढेर गएका छन् । हाम्रो देश यतिबेला रेमिट्यान्सको भरमा चलेको छ । यदि देशमा रेमिट्यान्स नभित्रिने हो भने देशको अर्थतन्त्रको हालत के हुने थियो त्यो कल्पना समेत गर्न सकिदैन ।

रेमिट्यान्सको भरले देश समृद्ध बन्न सक्दैन । यदि देशलाई समृद्ध र आत्मनिर्भर बनाउने हो भने कृषिक्रान्तिमा जोड दिनु पर्छ । अब राज्यको ध्यान कृषिक्षेत्रतिर जानुपर्छ । राज्यले बजेट अरु क्षेत्रमा भन्दा बढी कृषि क्षेत्रमा छुट्टाउनु पर्छ । कृषि सम्वन्धि पढाई सिमित ठाउँमा र सिमित विद्यार्थी भएकोले उत्पादित विद्यार्थीलाई सबैले प्रोत्साहन गर्नु पर्छ । यो समयको माग हो । कृषिक्रान्ति गर्न सकेको खण्डमा देशले समृद्धि छिटो हासिल गर्ने थियो । अब सबैको ध्यान कृषिक्रान्तिमा केन्द्रित हुन जरुरी छ । यसो भयोभने कृषिमा हामी आत्मनिर्भर बन्न सक्छौँ ।

Top of Form