अब मुलुकलाई सही दिशा दिन दूरदर्शी नेताको खाँचो

-डा. डीआर उपाध्याय


हाम्रो देश संघीय लोकतान्त्रिक राज्य प्रणालीमा रुपान्तरित भएको धेरै समय भइसक्दा पनि अभ्यासकै रूपमा छ । अहिले प्रतिनिधिसभा भंग भएकोले देशको राजनीतिक अवस्था अन्योलमा छ । प्रचण्ड–माधव समूह र ओली समूहका बीच आपसी जुहारी चलिरहेको छ । यतिबेला दुई खेमा बिच आरोप प्रत्यारोपको राजनीतिक शृंखला चलेको छ । दुई समूह बिचको यो झगडाले देशको भाग्य र भविष्य नै अध्यारो तर्फ धकेलिएको छ । यतिबेला देशमा विकास, समृद्धि र सुशासन कायम भै देशलाई अग्रगति दिनु पर्दथ्यो । तर जनताको भावना विपरित अहिले जुन किसिमका गतिविधि भैरहेका छन् यी सबै राष्ट्रहित विपरित छन् ।

राष्ट्रलाई सर्वोपरि ठानी काम गर्न सक्ने दुरदर्शी नेताको अभावले यस्ता समस्याहरु उत्पन्न भैरहेका छन् । अब मुलुकलाई सही दिशा दिन दूरदर्शी नेताको खाँचो परेको छ । दूरदर्शी भनेको भोलीको कुरा देख्ने स्पष्ट दृष्टिकोण भएको नेता हो । अहिलेको युगले त्यस्तै नेतृत्व खोजेको छ । अब मुलुकको भाग्य र भविष्य निर्माण गर्न दूरदर्शी नेतृत्वको आवश्यकता छ । यो आवश्यकता परिपुर्ति गर्न ढिलाई भैसकेको देखिन्छ । यतिबेला मुलुक राजनीति र संवैधानिक संकटमा छ । यो संकटबाट मुलुकले छिटो निकास पाउनु पर्छ । राजनीतिक दलहरु मुलुकलाई निकास दिन एक भएर अगाडि बढ्नु पर्छ । यो नै जनताको चाहना हो । अब जनतालाई अल्मलाउने, ढाट्ने र भ्रम छर्ने जमाना छैन । अहिलेका जनता चेतनशिल, जागरुप र बौद्धिक छन् । नेताको भन्दा जनताको चेतनास्तर धेरै माथि उठिसकेको अवस्था छ । नेताले अब झुटा आश्वासन देखाएर आफ्नो पक्षमा पार्न सक्ने अवस्था रहेन । भ्रमको राजनीति अब टिक्ने वाला छैन ।

अब राजनीतिक दल र तिनका नेताहरुले पुरानो सोच, कार्यशैली र सिद्धान्त देखाएर जनता पछि लाग्नेवाला छैनन् । अब नेताहरुले यो भ्रम पालेर बस्नु उचित हुँदैन । जनताले नेताको भाषण, सिद्धान्त होइन ,परिणाम खोजेका छन् । जसले जनतालाई परिणाम दिन सक्छ उसको भविष्य नै दिगो रहन सक्छ । अहिले सम्म देशमा देखिएका जतिपनि राजनीतिक दलहरु छन् तिनिहरुले खासै नयाँपन दिन सकेका छैनन् । जे जति दलहरु छन् ती सबै परम्परागत रुपमा चलिरहेका छन् । यो नै देशको समस्या हो । राजनीतिक दलहरु देश र जनताको भलाइ भन्दा पनि सत्तास्वार्थमा बढी केन्द्रित हुँदा बेला बेलामा राजनीतिक समस्या उब्जिने गरेका छन् ।