के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

डा. डीआर उपाध्याय


मुलुक राजनीतिक अस्थिरतातर्फ जाने खतरा बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेपछि यो अवस्था सृजना भएको हो । मुलुकको राजनीतिक अवस्था बिग्रियो । अहिलेको गतिविधिले राजनीति संकट निम्त्याउँदै छ । सरकार गठनको सुरुवातबाटै सत्तारुढ दलभित्र खटपट हुन थालेको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यवहार र कार्यशैलीमा दम्भ र अहङ्कार बढेकोले बिभाजनको रेखा कोरिएको हो । ओलीले आफ्नै ढिपी छोडेनन् । प्रचण्डले ओलीलाई ‘साइज’ मा ल्याउने कसरत गरे । जसले गर्दा अन्ततः सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुने अवस्थामा पुग्यो । नेतृत्वको अहङ्कार र सर्वसत्तावादी चिन्तनले नेकपालाई सिध्यायो । अध्यक्षद्वय एक अर्काप्रति कटाक्ष गर्दै हिँड्ने अवस्थामा पुगे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशले नयाँ जनादेश दिने हो कि मुलुकमा अस्थिरता निम्ताउने हो त्यो भने हेर्न बाँकी छ । के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ? कुनै नेताको रिस वा आवेगले मुलुकलाई अस्थिरतामा लान मिल्दैन । दलभित्रको आन्तरिक विवादले संसद् विघटन भएपछि सत्तारुढ दल दुई खेमामा विभाजित भएको छ । केपी ओली खेमा चुनाव हुन्छ भन्दै चुनावको तयारीमा देश दौडाहामा लागिसके । चुनाब होला वा नहोला त्यो आफ्नो ठाउँमा छ । अर्को दाहाल – नेपाल खेमा संसद पुनस्थापना हुनुपर्ने पक्षमा खरो उत्रेका छन् । यही विषयलाई लिएर अन्य राजनीतिक दलसँग मोर्चाबन्दी गर्ने रणनितीमा छन् ।

प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको हुनाले सम्मानित अदालतको फैसला नै अन्तिम निर्णायक हुन्छ । दलहरु अदालतको फैसलाको पर्खाइमा छन् । यसका बारेमा कसैले पनि अनावश्यक टीकाटिप्पणी गर्न उचित हुँदैन् । पछिल्लो समयमा आएर नेकपाका नेताहरूको भाषणवाजी जनमानसमा अपच भइसक्यो । अब भाषण होइन परिणाम चाहिएको छ ।

चुनावको बेलामा उमेदवारको क्षमता, दक्षता, दूरगामी सोच भएको उमेदवार नछान्दा आज मुलुकले यो दुर्दशा भोग्नु परिरहेको छ । जनताले राजनीतिक स्थिरताको आशामा नेकपालाई करिब दुई तिहाइको नजिक मत दिएर सत्तामा पठाएका थिए । नेकपाका अध्यक्षद्वय ओली र दाहाल दुवै नेताले जनताको पक्षमा लोकप्रिय काम गर्छन् भन्ने आम जनतामा भ्रम परेको थियो । तर, नेकपाको आन्तरिक विवादका कारण पार्टी दुई खेमामा विभाजन भएपछि जनतामा निराशा बढेको छ ।

मुलुकमा कोरोना महामारीका कारणले जनता भोकै छटपटिदा पनि सत्तारुढदलका शीर्ष नेताहरु कानमा तेल राखेर बसे । मजदुर एकछाक खानको लागि सडकमा लाम लागेको कारुणिक दृश्य देखेर पनि मौन बसे । नेकपाका नेताहरुले यी समस्या उठाएर ओलीसँग सबालजबाफ गर्न कहिल्यै आँट गरेनन् ।