आज माघे सङ्क्रान्ति पर्व धुमधामका साथ मनाईदै

-डा. डीआर उपाध्याय


आज माघे सङ्क्रान्ति पर्व धुमधामका साथ मनाईँदै छ । यो पर्व विशेषगरि नेपालका थारु, मगर, छन्त्याल लगायत आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा धुमधामसँग मनाउँछन् । काठमाण्डौ उपत्यकाका आदिवासी नेवार र त्यस्तै अन्य समुदायले पनि आ-आफ्नै संस्कार अनुसार मनाउँदै आइरहेका छन् । हिन्दूहरूले पवित्र धार्मिकस्थल देवघाट, रुरुक्षेत्र लगायत विभिन्न स्थान र पवित्र नदी संगममा स्नान गरी देवता र पितृहरूलाई तर्पण दिई मनाउने प्रचलन रहिआएको छ । यस पर्व विशेषगरि तिलको लड्डु, घिउ, चाकु, तरुल, सखरखण्ड खाएर मनाइने चलन छ ।

१२ महिनामा हुने १२ राशीअनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ । यो प्राकृतिक नियम नै हो । यो दिन तराईका आदिवासी थारुहरूले माघी सङ्क्रान्ति र तिला सङ्क्रान्ति भन्दै धुमधामसँग मनाउने गर्छन् । यो दिनदेखि थारूहरूको नयाँ वर्ष सुरु हुने भएकोले पाँच दिनसम्म रमाइलो गर्दै माघीचाड मनाउँछन् ।

थारू समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । मगर समुदायले पनि माघे सङ्क्रान्ति चाड मनाउँछन् । यस पर्वमा विशेष गरेर धनुषवाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु खाने र मासको दाल, भात र नुन एकै ठाउँमा पकाई खिचडी बनाई खाने र खिचडी नै पितृलाई पिण्ड दिने उनीहरुको चलन छ । यो दिन मगरहरूले आफ्ना चेलीवेटी र इष्टमित्रहरूलाई बोलाई भोज खुवाउने चलन छ । मगर समुदायले यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्दै आएका छन् । चाडपर्व भनेकै हाम्रा पहिचान हुन् । परम्परागत रुपमा मनाउँदै आएका यस्ता चाडपर्वलाई निरन्तरता दिई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।