प्रतिभा खोज्न अनलाइन नाटक प्रतियोगिता


साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले अनलाइन एकल नाटक प्रतियोगिता को आयोजना गर्ने भएको छ । अब घरघरमा रङ्गमञ्च भन्ने अवधारणा आत्मासात गर्दै देश-विदेशका प्रतिभावान कलाकारहरुको खोजी गर्न प्रतियोगिताको आयोजना गरिएको संस्थानले जनाएको छ ।

प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने र नाटकको अवधी १५ देखि २० मिनेटको हुनुपर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले नाटकको पाण्डुलिपि सहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनु पर्ने, कलाकारको एकल प्रस्तुति हुनुपर्ने साथै  नाटकको भिडियो एक सर्टको मात्र हुनुपर्ने प्रावधान राखिएको छ ।

देशको सार्वभौमिकता र अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कने जस्ता विषय मान्य नहुने कुरा समेत संस्थानले जानकारी गराएको छ ।

प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गर्ने साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए । ‘उत्कृष्ट २५ नाटकलाई साँस्कृतिक संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिने र प्रसारण भएको एक महिनासम्म नाटकहरु अनलाइन अडियन्स जजिङका रूपमा रहने कुरा जानकारी गराउँदै महाप्रबन्धक राईले भने- ‘यस अवधिमा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई निर्णायक मण्डलले बढीमा थप १५ अङ्कसम्म दिने छ र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अङ्क मिलाई अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट ५ नाटकको चयन गरिने छ ।’

उत्कृष्ट ५ नाटक मध्ये साँस्कृतिक संस्थानको मञ्चमा रङ्गमञ्चीय वातावरणबीच लाइभ प्रस्तुति मार्फत सर्वोत्कृष्ट विजेताको छनोट गरिने छ । प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो विजेताहरुलाई प्रमाणपत्र सहित क्रमशः नगद रू. १ लाख, ५० हजार र २५ हजार पुरस्कार प्रदान गरिने छ भने दुई जनाले जनही नगद रू. १५ हजार र प्रमाणपत्र सहित सान्त्वना पुरस्कार पाउने छन् । उत्कृष्ट ५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने, जाने, बस्ने, खाने सबै व्यवस्था साँस्कृतिक संस्थानले गर्नेछ । तर देश बाहिर रहेका कुनै प्रतियोगी छनोट भएमा नेपाल आउने जाने खर्च आफैंले व्यहोर्नु पर्नेछ । बस्ने, खाने व्यवस्था भने साँस्कृतिक संस्थानले गर्ने जनाइएको छ ।

SUBSCRIBE 👉