मन्जिला ‘अनिल’को उपन्यास ‘गोधूलि संसार’को लोकार्पण


साहित्यिक पत्रकार सङ्घले साहित्यकार मन्जिला ‘अनिल’को दोस्रो कृति उपन्यास ‘गोघूलि संसार’को २०७७ मङ्सिर २० गते तपस होटल, काठमाडौंमा लोकार्पण गर्यो । सो उपन्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सापसका अध्यक्ष राधेश्याम लेकाली, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, साहित्यकारहरु ज्ञानु पाण्डे, रमेश शुभेच्छुक र कृतिकारले संयुक्त रुपमा विमोचन गरेका थिए ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि कुलपति उप्रेतीले ‘नारी स्रष्टाहरुको अभाव खट्किन नदिन मन्जिलाको लेखनले आउँदो दिनमा विशेष भूमिका खेल्ने छ’ भन्नुभयो । यसैगरी कार्यक्रममा विमोचित कृतिबारे साहित्यकारहरु डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुकले समीक्षात्मक टिप्पणी गरेका थिए । यसैगरी साहित्यिक पत्रकार सङ्घका अध्यक्ष कार्यक्रमका सभापति लेकालीले ऐतिहासिक महत्व रहेको संस्था सापसले आउँदा दिनमा नयाँ ढङ्गले काम गर्ने धारणा राखेका थिए । लेकालीले भने – वि. सं. २०२९ सालमा स्थापित यो संस्थाले आगामी दिनमा नयाँ नयाँ कार्यक्रमहरुको आयोजना गरी साहित्यिक सक्रियता दिनेछ । कार्यक्रममा विमोचित कृतिकी लेखक मन्जिला ‘अनिल’ ले आफ्नो लेखन यात्रा र कृतिकाबारे मन्तव्य राखिन् ।

समारोहमा गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्राकार युवराज नयाँघरे, सङ्घकी महासचिव पुष्पा खनाल, साहित्यकार द्वारिका कुइकेलले आ-आफ्ना मन्तब्य राखेका थिए । वरिष्ठ संस्कृतिविद् देउडा गायक यज्ञराज उपाध्याय, शंकर लामिछाने प्रतिष्ठानकी महासचिव कमला रिसाल र अनिलनाथ उप्रेतीले गीतहरु गाउनुभएको थियो । कार्यक्रममा साहित्यकार मन्जिलालाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

यसैगरी प्रमुख अतिथि कुलपति उप्रेती, डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा अनेसासको केन्द्रीय उपाध्यक्षमा निर्वाचित साहित्यकार बाबा बस्नेतलाई दोसल्ला ओढाई बधाई ज्ञापन गरिएको थियो भने अमेरिकाबाट नेपाल आउनुभएकी साहित्यकार नीता श्रेष्ठलाई स्वागत सम्मान गरिएको थियो । सामाजिक दूरी कायम गरी आयोजना गरिएको यो कार्यक्रममा सहभागी सबैले नेपाली आख्यानमा आएको परिवर्तन र पाठकीय भूमिकाकोबारे चर्चा गरिएको थियो । सर्जक मन्जिलाको पहिलो कविता कृतिपछि आएको यो उपन्यासले “चम्पु स्वाद” को रुपमा रहेको पाठकीय धारणा समेत थियो ।

साहित्यिक पत्रकार सङ्घ नेपाली साहित्यिक समाजमा एउटा विशिष्ट संस्था हो । यसले बर्षेनी कविता यात्रा, कथा दिवस, आत्मवाचन कार्यक्रम, साहित्यिक वनभोज कार्यक्रम गर्दै मैनाली कथा पुरस्कर, व्यथिथ काव्य पुरस्कार लगायत स्रष्टाहरुको अभिनन्दन र सम्मान पनि गर्दै आएको छ । यही क्रममा २०३८ सालमा विशेश्वरप्रसाद कोइरालाको अभिनन्दन गरेको थियो भने २०४५ पछि २०६४ सालसम्म गाइजात्रे कार्यक्रम पनि आयोजना गरेको थियो । यसरी सङ्घले साहित्यिक सक्रियता निरन्तर रुपमा गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, दायित्व वाङ्मय  प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्की, पहिलो महिला चलचित्र निर्देशक, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी कवि सुचित्रा श्रेष्ठ, वी. एन. प्रकाशनका सूर्य वी. सी., साहित्यकारहरु सुमन बर्षा, सविता श्रेष्ठ बेहोसी, डा. शान्तिमाया गिरी, मधु पाठक, शान्ति रिसाल, रन्जना निरौला, नीशा के. सी., अतुल स्मृती गुरुकुलका अध्यक्ष बन्दना गौतम, उप्रेती समाजका अध्यक्ष मोहनकृष्ण उप्रेती र अनिलनाथ उप्रेती आदिको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉