मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई ‘हरितारा पुरस्कार’


हरितारा चलचित्र पुरस्कार का संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मङ्सिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी, नाट्यकर्मी एवं अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि सम्सेरको नाममा अक्षयकोष खडा गरी स्थापना गर्नुभएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।

वि.सं. २०७५ सालको पुरस्कार ४ दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियोनाटक एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपूर्ण योगदान गर्नु भएकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्न लागिएको कुरा थाहा भएको छ  । यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशकभन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृति एवं गीत सङ्गीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पु¥याउनुभएको योगदानका लागि  गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको कुरा जानकारी गराईएको छ । पुरस्कारको थैली जनही पच्चीस पच्चीस हजार रुपैया रहेको छ ।

यसैगरी मङ्सिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रुपैया रहेको छ । परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक/अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी/गीतकार शान्तिप्रिय रहनुभएको समितिले गरेको हो । यसअघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ ।

डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुषको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको थाहा भएको छ ।