आफ्नो घरको समस्या आफैं समाधान गरौं ।

डा. डीआर उपाध्याय


अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन् । राजावादीहरु उत्साहित देखिन्छन् । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जतिसुकै चर्को नारावाजी गरेपनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग, तपस्या र बलिदानवाट प्राप्त अहिलेसम्मका उपलव्धीहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन् । दोस्रो जनआन्दोलनका सबै उपलव्धी जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ ।

लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा, जुलुश गर्ने अधिकार सबैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि यस्तो अभ्यास गर्ने स्वतन्त्रता नेपाली नागरिकलाई दिएको छ । लोकतन्त्रमा संविधानले दिएको अधिकारको शान्तिपूर्ण अभ्यास भइरहन्छ  र हुनुपर्छ । अहिले देशका केही सहरमा राजाका पक्षमा निकालिएका जुलुसहरूलाई हल्का रुपमा पनि लिनु हुँदैन । जनतामा देखिएको वितृष्णा हो । दलहरु भित्रको विवाद, सरकार सञ्चालनमा असफल जस्ता काम कारवाहीले राजावादीहरुलाई जनमत बनाउन मलजल भईरहेको छ । यो बिषयमा गम्भीर बनौं ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा वितृष्णा उत्पन्न गराउने खेलहरु सुरु भइरहेका छन् । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । यहाँ अरु सपना नदेखे हुन्छ । कोभिड-१९ को महामारी लगायतको व्यवस्थापनमा सरकार असफल देखिएको छ । जनताका समस्या दिन प्रतिदिन बढ्दै गएका छन् । बेरोजगारी समस्या बढ्दै गएको छ । महंगीले आकाश छोएको छ । खान, बस्नको समस्याले जनता चिन्तित छन् । बजारमा सबै चिज महंगो छ । यी यी कारणले  सरकारप्रति जनतामा चर्को वितृष्णा उत्पन्न भएको छ । ब्यवस्थाप्रति जनतामा वितृष्णा उत्पन्न भएको छैन ।

प्रमुख विपक्ष नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका खेल्न सकेन । जनतामा निराशा आउन दिनु हुँदैन । यदि जनता निराश भए भने ब्यवस्थामाथि प्रश्न उठ्न सक्छ । तर अहिले त्यस्तो स्थिति  आएको छैन । राजतन्त्रका समर्थकहरूले यहीबेला राजाका पक्षमा जनमत बनाउने र शक्ति प्रदर्शन गर्ने मौका पाईरहेका छन् । नेपाली जनताले राजतन्त्र फर्काउन खोजेका छन् भन्ने कसैले पनि नठाने हुन्छ । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद पनि छिटो समाधान हुनु पर्छ । दल भित्रको विवादले प्रतिगामी तत्वहरु सल्वलाउन थालेका छन् । मुलुकको सबैभन्दा ठूलो दल नेकपा अब गम्भीर बन्नु पर्ने आवश्यकता देखिएको छ । देशी, बिदेशी शक्तिहरु नेकपाभित्रको आन्तरिक विवाद देखेर चलखेल गरिरहेका छन् । त्यसैले आफ्नो घरको समस्या आफैं समाधान गरौं ।