यो जहाज डुबे सबै डुब्ने हो

डा. डीआर उपाध्याय


यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर नेकपा बनेको हो । लामो समय देखि मुलुक कोरोना भाइरसबाट आक्रान्त छ । यही अवस्थामा सत्तारुढ दल नेकपाभित्र बिवाद छ । जसले गर्दा पार्टी एकता नै सङ्कटमा पुगेको छ ।पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले पार्टी जोगाउँन त्यति पहलकदमी गरेको देखिएन । नेकपाभित्र यसअघिका विवाद भन्दा अहिलेको बिवाद निकै पेचिलो बनेको छ । परिस्थिति जटिल बनेर अघि बढिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सङ्गीन आरोपसहित प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवादले नयाँ मोड लिन पुगेको हो ।

गुटगत भेला, एक अध्यक्षले अर्का अध्यक्षमाथि सङ्गीन आरोप लगाउने काम रोकिएको छैन । यसअघिका विवादहरू लेनदेनमा समाधान हुन्थ्ये । अहिले त्यस्तो अवस्था देखिदैन । छुट्टाछुट्टै हुने भेला, गुटगत बैठकले नेकपालाई सग्लै राख्न मद्दत गर्छ कि विनाशको बाटोमा । यो गम्भिर प्रश्न छ । एकले अर्कोलाई गाली गलोज गरेर समस्या समाधान हुदैन । नेकपा विभाजन हुनु हुदैन भन्र्ने मेरो बिचार छ । यदि नेकपा विभाजन भैहाल्यो भने देश ठूलो दुर्घटनातर्फ जाने छ । यो कुरा नेताहरूले अहिले नै हेक्का राख्न जरुरी छ । बिगतमा पार्टी विभाजनको पीडा नेताहरूले भोगिसकेका छन । बिगतबाट पाठ सिक्न नेताहरुलाई अनुरोध गर्दछु । पार्टीका नेताहरुले क्षणिक आवेग, उत्तेजनामा कुनै पनि फैसला गर्नु हुदैन । नेकपा भित्र बहस छलफल सैद्धान्तिक र वैचारिक विषयमा केन्द्रित हुन जरुरी छ । त्यसो भयो भने मात्र नेकपा बचाउन सकिन्छ । अहिले केहि तत्वहरुले व्यवस्थाविरोधी प्रदर्शन गरिरहेका छन । यो चिन्ताको बिषय हो ।

अहिले राजतन्त्र पक्षधरको ठूलो सङ्ख्यामा सडकमा उपस्थिति देखिएको छ । यो जनतामा देखिएको निराशा हो । काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको समाचारहरु आईरहेका छन । अव लोकतन्त्रवादी शक्तिहरु संवाद , सहमति र सहकार्य गरेर अघि बढनु पर्ने बेला आएको छ । प्रतिगामी तत्वहरुले टाउँको उठाउँन खोज्दैन । अव सबैले सोच्ने बेला आयो । जव जव दलहरु बिभाजन हुन खोज्छन तव तव प्रतिगामी तत्वहरु सल्वलाउन थाल्छन । अव सरकार चुप लागेर बस्नु हुदैन । ब्यवस्था प्रति नै प्रश्न उठन थाल्यो । लामो त्याग, तपस्या र बलिदानले प्राप्त उपलव्धि गुम्ने खतरा आउन थाल्यो । अव सवै लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिऔं । यो जहाज डुवे सबै डुब्ने हो, कोही बाँकी रहिने छैन । अव पार्टी भित्रका आन्तरिक बिवादमा अल्झिएर बस्ने बेला हुदै होइन । अव सत्तारुढ दल नेकपा गम्भिर बनेर सवै लोकतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल सुरु गर्नु पर्छ । यो आजको आवश्यकता हो ।