शीर्ष नेता हो, तपाईहरु आफू हारेर भए पनि पार्टीलाई जिताउनुहोस्

-डा. डीआर उपाध्याय


सत्तारुढ दल नेकपामा अहिले आरोप-प्रत्यारोपको शृङ्खला चलिरहेको छ । यो शृङ्खला कहिलेसम्म चल्ने हो यसै भन्न सकिने अवस्था छैन । पहिले पनि आरोप-प्रत्यारोपको झगडा त हुन्थ्यो । लेनदेनको हिसाब मिलेपछि झगडा बन्द हुन्थ्यो । तर अहिले झगडा पेचिलो बनेर गएको छ । दुबैथरिका आरोप-प्रत्यारोपको प्रकृति हेर्दा मिलेर जालान जस्तो देखिदैन । यो पार्टीलाई मिलाएर लैजानु पर्ने अहिलेको आवश्यकता हो । तर शीर्ष नेताहरु नै गम्भीर बन्न सकेनन् । नेकपामा लामो समयसम्म विवाद हुँदा केही तत्वहरु सल्बलाउन थालेका छन् ।

यतिबेला दुबैथरि शीर्ष नेताहरू मुलुकको भाग्य भविष्य निर्माणप्रति चिन्तित हुनु पर्दथ्यो, तर हुन सकेनन् । जनताले यो सरकारबाट आश मारिसकेका छन् । यो पार्टीको फुटको बीउ यसको एकताकालमै रोपिसकिएको थियो । सिद्धान्त, विचार र नीति बिना गरिएको एकताले समस्या ल्याउँछ । यो कुरा धेरै पहिलेदेखि उठेको हो । नेकपा जग बिनाको घर निर्माण जस्तो भएको छ । अहिले सत्तारुढ दल नेकपामा त्यही परिस्थिति देखा पर्दै छ । असैद्धान्तिक अर्थहीन हतारको एकताले अहिले नेकपालाई समस्यामा पारेको हो ।

प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रबमोजिम जनताको मन जित्न सक्नु पर्दथ्यो । तर उहाँले चुनावी घोषणापत्र बमोजिम जनताको मन जित्न सक्नु भएन । उहाँले पद, अवसर र जिम्मेवारीको न्यायोचित वितरण गरेर पार्टी मिलाएर लैजान सक्नु पर्दथ्यो, त्यो पनि सक्नु भएन । आफ्नै दलभित्रको भिन्न मतलाई सँगसँगै समेटेर लान सकेको भए यो समस्या आउने थिएन । अहिले जुन ढङ्गले नेकपामा बिवाद चुलिएको छ, यसले न नेकपालाई फाईदा छ न त देशलाई । त्यसैले आफू हारेर भएपनि पाटी र  देश जिताउने अभियानमा नेताहरु लाग्नु पर्ने हो । तर लागेनन् । अहिले नेकपाका नेता निहित स्वार्थपूर्तिमा लागेका छन् । सत्तास्वार्थको राजनीतिमा लागेका छन् । कार्यकर्ताहरु भने पार्टी एकताकै पक्षमा देखिन्छन् ।

यतिबेला नेकपाका दोस्रो र तेसो तहका नेता-कार्यकर्ताहरू निरीह र निष्क्रिय देखिएका छन् । यो परिस्थितिमा सर्वशक्तिमान केन्द्रीय समिति सक्रिय हुनु पर्दथ्यो । नेकपाको पार्टी एकतालाई जोगाउने तागत केन्द्रीय समितिमा छ । विडम्बना ! अध्यक्ष ओली यही केन्द्रीय समितिको बैठक टार्ने प्रयत्नमा देखिनु भएको छ । शीर्ष नेता हो, तपाईहरु आफू हारेर भएपनि पार्टीलाई जिताउनुहोस् । तपाईहरु आफू हारेर पनि पार्टीलाई जिताउने बेला हो यो । सिद्धान्त, विधि र पद्धतिलाई व्यवहारमा लागू गर्नुहोस् ।