शीर्ष नेताहरुको सत्तास्वार्थको गोलचक्करमा अल्झिएको राजनीति

डा. डीआर उपाध्याय


देशको बिकास, समृद्धि र सुशासन कायम गर्ने महत्वपूर्ण सवालमा सरकारको ध्यान गएको देखिँदैन । विकासको आधारशिला भनेको सुशासन हो । देशमा भ्रष्टाचारको अन्त्य हुन सकेको छैन । भ्रष्टाचार बढदो छ । राजनीतिक दलमा सिद्धान्त, निष्ठा र गन्तव्य प्रस्ट छैन । जसले गर्दा हाम्रो देश पछाडि परिरहेको छ । मुलुक झन् पछि झन् गरिबी, अभावमा धकेलिइरहेको अवस्था छ । दु:ख लाग्दो कुरा के हो भने हामीले बिश्वास गरेका राजनीतिक दलहरुले नै देश विकासको मार्गचित्र तय गर्न सकिरहेका छैनन् । अनि यस्तो भएपछि देशको बिकास कसरी हुन्छ ?  

हरेक दलभित्र आन्तरिक खिचातानी र मनमुनाव झाँगिदै गएको देखिन्छ। । हाम्रा नेताहरुको चिन्तन र प्रवृत्ति बदलिन सकेन । देशलाई आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउने स्पस्ट दृष्टिकोण कुनै दल र तिनका नेतामा छैन । स्पस्ट दृष्टिकोण नभएसम्म देश अघि बढाउन सकिदैन । अब नेपालमा दुरदर्शि राजनेताको खाँचो छ । दुरदर्शि राजनेताको अभावले देशले विकासको गति लिन नसकेको हो । देशको कुनै पनि क्षेत्रमा सुधार हुन सकेन । समाजमा जनताका समस्याहरु ज्यूँका त्यूँ छन् । ब्यवस्था फेरियो तर जनताको अवस्था उस्तै छ । जनताका समस्याहरु बढ्दै गएका छन् । जति राजनीतिक व्यवस्था बदलिए पनि जनताले केही पाउन सकेनन् । यो नै दुखद पक्ष हो ।

हाम्रो देशमा कुनै पनि राजनीतिक दलहरुमा सैद्धान्तिक कार्यदिशा छैन । जसले गर्दा देशको विकास हुने संकेत पटक्कै देखिँदैन । जनता निराश छन् । मुलुकको भाग्य र भविष्य निर्माण हुन सकेन । शीर्ष नेताहरुको सत्तास्वार्थको गोलचक्करमा अल्झिएको छ राजनीति । जसले गर्दा सिङ्गो मुलुक बन्धक भइरहेको छ । अनि कसरी देशले विकासको गति लिन सक्छ ?

अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटीभित्र पद, पैसा र सत्तास्वार्थको लडाइँ चलिरहेको छ । नेकपाभित्र युवाहरुले अबको नेतृत्व युवाहरुको हातमा आउनुपर्दछ भनेर आक्रोश व्यक्त गरिरहेका छन् । तर शीर्ष नेताहरु यो कुरा सुन्न तयार छैनन् । नेपाल कम्युनिस्ट पार्टीको किचलोले जगत्लाई हँसाएको छ । सधैँ विवाद, घोचपेच र रस्साकस्सीको गाईजात्राबाहेक अरु केही छैन । मुलुकमा तस्करी, महङ्गी, कालोबजारी, बेरोजगारी, अनियमितता व्याप्त छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार भएको छ । युवाहरु रोजगारीको लागि बिदेश पलायन भईरहेका छन् । देशको लागि यो भन्दा ठूलो विडम्बना के हुन सक्छ ?